बेलायतमा ‘गोर्खा वारियर’ले बनायो इतिहास

फिल्म । नेपाली चलचित्र ‘गोर्खा वारियर’को पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएको छ । नौ सय दर्शक सहभागी वर्ल्ड प्रिमियरमा चलचित्र हेरेपछि गोर्खालीको वीरतासँगै नेपाली चलचित्रको निर्माण शैलीको तारिफ गरेका थिए । सिनेवर्ल्डमा पहिलोपटक नेपाली चलचित्रको प्रिमियर गर्दै इतिहास रच्न सफल भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमार्फत गोर्खालीको वीरताको कथालाई पर्दामा हेरेपछि दर्शक बनेका गोर्खाली भावुक भए ।

विदेशी चलचित्र उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले चलचित्रलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । हलिउड र बलिउडका ठूला स्टारको चलचित्र प्रिमियर हुने सिनेवर्ल्डमा नेपाली चलचित्रको पहिलोपटक प्रिमियर भएको हो । सो प्रिमियर पश्चात नेपाली चलचित्र र स्तरीयताको बारेमा प्रवासी नेपालीसँगै ब्रिटिस पनि जानकार भएको उनको बुझाइ छ ।

‘मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली चलचित्रको बजार विस्तारलाई यस्ता इभेन्ट सघाउनेमा विश्वस्त छु’, निर्देशक मिलनले भने,‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु । यो प्रिमियरले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पुर्याउने छ ।’

प्रिमियरमा हलिउडबाट मिसन इम्पोसिवलका निर्माता टोमी ग्रोम्ली, हलिउडका पाइनउड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन सहभागी थिए । उनीहरुले नेपाली चलचित्रको मेकिङ प्रशंसा गरेका थिए । ‘हाम्रो कथालाई हेर्ने उत्साह र हेरेपछि पाएको प्रतिक्रियाले हौसला मिलेको छ । मैले चलचित्रको निर्माणका क्रममा खर्चिएको एक दशकको समयको प्रतिफलले मलाई आगामी कार्यदिशा तय गर्न मदत गरेको छ’,निर्देशक मिलनले भने । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्