फिल्म । भारतीय फिल्म ‘स्प्रिट’ बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छिन् । तेलुगु सञ्चारमाध्यमका अनुसार निर्देशक सन्दीप रेड्डी भाङ्गासँग भएको मनमुटावका कारण दीपिकाले यो ठूलो बजेटको पुलिस ड्रामा छाडेकी हुन् । गत साता मात्रै दीपिकालाई अभिनेता प्रभासको अपोजिटमा अनुबन्धित गरिएको खबर सार्वजनिक भएको थियो ।
बुधबार साँझदेखि भने दीपिकाले राखेका केही ‘अव्यवसायिक माग’ का कारण निर्देशक भाङ्गा असन्तुष्ट भएको र फलस्वरुप उनलाई प्रोजेक्टबाट हटाइएको समाचारहरु बाहिरिएका छन् । विभिन्न तेलुगु मिडिया रिपोर्टका अनुसार, दीपिकाले फिल्मका लागि मुनाफासहित ४० करोड भारतीय रुपैयाँ पारिश्रमिक, दैनिक ६ घण्टा मात्र छायांकन र तेलुगु संवाद नबोल्ने जस्ता सर्त राखेकी थिइन् । यी मागहरूमा निर्देशक सहमत हुन नसकेपछि दीपिका बाहिरिएको बताइएको छ । यद्यपि, यस विषयमा दीपिका पादुकोणको टिमबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
विवरणअनुसार, निर्देशक भाङ्गाले दीपिकाको ठाउँमा अर्की अभिनेत्रीको खोजी सुरु गरिसकेका छन् । फिल्मको छायांकन अक्टोबरबाट सुरु गर्ने तयारी भइरहेको छ । ‘स्प्रिट’ लाई टि-सिरिजको ब्यानरमा भुषण कुमारले निर्माण गर्दैछन् । सन्दीप रेड्डी भाङ्गा निर्देशित पछिल्लो फिल्म ‘एनिमल’ (२०२३) बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो । ‘स्प्रिट’ का मुख्य अभिनेता प्रभास पनि गतवर्षको सफल फिल्म ‘कल्की २८९८ एडी’ मा देखिएका थिए ।