सङ्गीत । सनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा सम्पन्न ‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनतर्फ राजेन्द्र दयाल र नृत्यतर्फ हानिश मौनी विजेता बनेका छन् । ग्रान्ड फिनालेमा विभिन्न चरण पार गर्दै आएका प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थि ए। फिनालेबाट गायन र नृत्य विधामा उत्कृष्ट पाँच प्रतियोगी छनोट गरिएको आयोजकले जनाएको छ।
गायनतर्फ धर्मराज तिमिल्सिना प्रथम, महेश्वर थापा मगर द्वितीय, सुन्दरनाथ योगी तृतीय र धर्मेन्द्र धामी चौथो रनरअप बने । त्यसैगरी, नृत्यतर्फ सिर्जना बीके प्रथम, उमेश परियार द्वितीय, रेस्मी ठगुन्ना तृतीय र सपना चुडारा चौथो रनरअप घोषित भईन् । प्रतियोगिताको निर्णायक टोलीमा ग्रान्ड जज जेम्स जोशीसहित भवानी रेग्मी, नरेन्द्रराज रेग्मी र शमिर परियार थिए ।
आयोजकका अनुसार प्रतियोगिताको नतिजा सार्वजनिक मत र निर्णायकको मतका आधारमा निर्धारण गरिएको थियो । त्यसका लागि अन्तर्राष्ट्रिय भोटिङ, ईसेवा भोटिङ र भोटिङ पासको व्यवस्था गरिएको थियो। प्रत्येक निर्णायकलाई ५०० मताधिकार दिइएको थियो भने अन्य माध्यमबाट असीमित मत दिन सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले नगद दुई लाख रुपैयाँसहित चार लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माण अवसर र अन्तर्राष्ट्रिय भ्रमणको पुरस्कार प्राप्त गर्नेछन्। प्रथम रनरअपले ७० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माण अवसर पाउनेछन्।
त्यस्तै, द्वितीय रनरअपले ३० हजार रुपैयाँ नगद र दुई लाख रुपैयाँबराबरको निर्माण अवसर, तृतीय रनरअपले १३ हजार रुपैयाँ नगद र एक लाख रुपैयाँबराबरको अवसर तथा चौथो रनरअपले पाँच हजार रुपैयाँ नगद र ५० हजार रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माण अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।










