‘परिवर्तन’को टिजरमा सुशीलको एक्सनको तारिफ

फिल्म । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’ को सार्वजनिक टिजरलाई दर्शकले रुचाएका छन् । छठ पर्वको अवसरमा सार्वजनिक गरिएको टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिदै अभिनेता सुशील श्रेष्ठको एक्सनको तारिफ गरेका छन् । देशमा व्याप्त भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारविरुद्ध युवाहरूले परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देशसहित तयार गरिएको फिल्ममा सुशीलले पुनः आफूलाई एक्सन अभिनेताका रुपमा प्रमाणित गरेका छन् ।

निर्माता तथा कथाकार दिपक शिवाकोटीले फिल्मले देशभक्त युवाहरूको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए । उनले भने, ‘अबको परिवर्तन युवाबाटै सम्भव छ । यो फिल्मले समाजमा चेतना जगाउने हाम्रो प्रयास हो।’ विजय केरुङद्वारा निर्देशित यो फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक केरुङले टिजरमार्फत फिल्मको मुख्य सन्देश दर्शकमाझ पुर्‍याउन खोजिएको बताए । उनले भने, ‘फिल्मले युवाहरूको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई उजागर गर्छ ।’ शिवम अधिकारीको लेखनमा बनेको ‘परिवर्तन’मा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ ।

कमेन्ट गर्नुहोस्