‘यौटा सपनाको अवसान’ : भौतिक सुखको खोजीमाथि नाटकीय चिन्तन

रङ्गमञ्च। सामाजिक मुद्दालाई भव्य क्यानभाष र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाएका रंगकर्मी अनुप बराल ४ वर्षपछि नयाँ नाटक लिएर मञ्चमा प्रस्तुत हुँदैछन् । ४ वर्षअघि मण्डला थिएटरमा ‘महाभोज’को निर्देशन गरेका बरालले वर्तमान समयमा चलिरहेको आर्थिक संकटको दुरुस्त चित्र प्रस्तुत गर्ने गरी ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक तयार गरेका हुन् । मण्डला थिएटरमा यही १० गतेबाट मञ्चन हुने तयारीमा रहेको नाटकको अहिले धमाधम रिहर्सल भइरहेको छ ।

सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको आर्थर मिलर लिखित अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बराल र उनको लेखक कलाकार समूहले समसामयिक बनाएर प्रस्तुत गर्दैछ । चरित्र र कथाको आत्मा ग्रहण गरे पनि नाटकलाई नेपाली सन्दर्भमा जोडेर प्रस्तुत गर्न लागिएको बराल बताउँछन् । नाटकलाई नेपाली माटो सुहाउँदा बनाउने काम कवि विप्लव प्रतीकले गरेका हुन् ।

७५ वर्ष अघिको अमेरिकी सपना र अहिलेको नेपाली समाजको मनोविज्ञान एकै रहेकाले नाटक ‘यौटा सपनाको अवसान’को मञ्चन अति सान्दर्भिक समयमा हुन लागिरहेको अनुप बराल बताउँछन् । मान्छेको भौतिक वस्तुको अति मोहका कारण चुकाउनु पर्ने मूल्य नाटकको मुख्य कथ्य भएको उनको भनाइ छ । ‘हामीले भर्खरै प्रेम प्रसाद आचार्यको आत्मदाहको दृश्य देख्यौँ । उनको आत्मदाहले हाम्रा धेरै सत्य र सपनामाथि बहस छेडेको छ । नाटकको तयारी र उनको घटना संयोग हो । तर दुवै कुरा हाम्रो वरिपरि घटिरहेका घटनाका प्रतिनिधि हुन् । मञ्चमा हामीले सपनाको मूल्य चुकाउन बाध्य यस्तै चरित्रलाई जिवन्त बनाउने तयारी गरिरहेका छौँ,’ रिहर्सलको बीच भेटिएका बरालले भने ।

अनुप बरालका नाटक भव्य हुन्छन् र खर्चिला पनि । दर्शक जम्मा गर्न संघर्ष गर्नुपर्ने थिएटरमा खर्चिला नाटक गर्न ठूलै जोखिम लिनुपर्ने हुन्छ । तर यो नाटक तयार गर्न यो सबै जोखिम लिएका छन्, गोविन्द पराजुलीले । सन् २०१० मा राष्ट्रिय नाचघरले दिने ६ महिने प्रशिक्षण लिएर थिएटर र थिएटर व्यवस्थापनामा सक्रिय गोविन्दले सिनेमामा झैँ नाटकमा पनि सोलो निर्माणको अभ्यास संस्थागत गर्न ‘यौटा सपनाको अवसान’ तयार गरेको बताउँछन् । सोलो निर्माण अर्थात् एक जनाले मात्र लगानी गरेर नाटक तयार गर्ने । नेपालमा एकै व्यक्तिले लगानी गरेर नाटक तयार गर्ने अभ्यास न्यून छ । आर्थिक जोखिम आफ्नो थाप्लोमा लिएर नाटक तयार गर्ने प्रतिवद्धतापछिको कारण खोल्दै गोविन्द भन्छन्, ‘म आफैँले कलाकार भएर पनि नाटकमा काम गरेँ । अभिनयमा डुब्नु पर्ने हामी जहिले पनि पैसाको चिन्तामा डुबेका हुन्छौँ । यसरी नाटक गरेर आफैँ र दर्शकलाई पनि ठगिरहेको महसुस गरेपछि मैले निर्माणको अभिभारा लिने निर्णय गरेको हुँ । यौटा सपनाको अवसान यसैको मूर्तरुप हो ।’

गोविन्दले सन् २०१६ मा प्रवीन खतिवडाको निर्देशनमा ‘ऊ कस्को’ र सन् २०१७ मा ‘एक बोली एक दाम’ यसरी नै निर्माण गरेका थिए । ‘नाटक गर्नलाई पैसा आउँछ र गर्छु भन्ने नहुँदो रहेछ,’ गोविन्दको बुझाइ छ, ‘ अझ अहिले त देश नै आर्थिक संकटबाट गुज्रिरहेको छ । मानिसमा भविष्यलाई लिएर चिन्ता छ । तर यस्तो बेलामा आँट हौसला दिने नै कलाले हो । यही जिम्मेवारी महसुस गरेर अभावमा पनि काम गरिरहेका छौँ ।’

नाटकमा धेरै पत्र भएको र यसले अधवैंशेदेखि युवा युवतीसम्मलाई आफ्नो कथा भनेको महसुस गराउने अनुप बराल बताउँछन् । तर संघर्षलाई बुझ्ने मामलामा नाटकले नयाँ दृष्टिकोण प्रदान गर्ने उनलाई विश्वास छ । ‘संघर्ष गर्यो भने सफल भइन्छ भन्ने हाम्रो मान्यता छ । तर हामीले यी मान्यता खण्डित भएको बारम्बार देखेका छौँ । त्यस्ता मान्छेलाई समाजले बुझ्नुपर्छ भन्ने नाटकको एउटा आग्रह छ,’ बराल भन्छन्, ‘भौतिकवादले बाँकी सबै कुरालाई ओझेलमा पारेको समयमा यो नाटक आफैँलाई हेर्ने ऐना हो भन्ने लाग्छ मलाई ।’

यही चैतको १० गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा महिना दिनसम्म चल्ने नाटकमा शेखर चापागाइँ, दिया मास्के, दिव्य देव, मेनुका प्रधान, रोयदिभ श्रेष्ठ, सूर्यमान लिम्बू, विकास जोशी, उत्पल झा, सन्देश शाक्य, सारा जे अधिकारी, अविरल प्रताप अधिकारी, अभिषेक खड्का, विशाल पुलामी, निकिता आचार्य, सुरज मल्ल, जीवन गौतम आदिको अभिनय रहनेछ ।

कमेन्ट गर्नुहोस्