फिल्म । आउँदो वर्षको वैशाख १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीतमा नेपाली फिल्मनगरीका धेरै कलाकार देखिएका छन् । केहि समय अगाडी अभिनेता भुवन केसीले ‘साथी म तिम्रो’ मा यहिँ शैलीको गीत बलिउड फिल्म ‘ओम शान्ति ओम’ को गीत ‘दिवान्गी दिवान्गी’ बाट नक्कल गर्दै तयार गरेका थिए । उता बलिउडका चर्चित कलाकारहरु गीतमा जसरी इन्ट्री गर्छन्, यता पनि त्यही शैलीमा नेपाली कलाकारहरुलाई प्रवेश गराइएको छ ।
फिल्मको कथाको मागअनुसार गीतमा नेपाली कलाकारहरुलाई प्रस्तुत गरिएको निर्देशक साकार पन्तले जानकारी दिए । गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । दीपक शर्माको संगीत रहेको गीतको शब्द आनन्द अधिकारीले लेखेका हुन् । बिहेको माहोलमा खिचिएको गीतमा कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेल, बसुन्धरा भुषाल, भुवन चन्द, दिनेश डिसी, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, नविन के. भट्टराई, नितेश जंग कुँवर, नीर शाहलगायत फिचर्ड छन् ।
झन्डै १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर फिल्म निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा फिल्म निर्माण भएको बताइएको छ । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष सन्त र साकार पन्तको हो । भने, सन्दीप किस्नाको पटकथा छ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै अभिनय रहेको फिल्ममा केकी, ऋचा र रिमासँगै जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतको पनि अभिनय छ ।










