‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी

फिल्म । फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण हुने जानकारी गराइएको हो । सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार हुने म्यूजिकल लभस्टोरी जनरामा आधारित फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ । फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ ।

यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ‘सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् । ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो’ आयुष्मानले आफ्नो क्यारेक्टरको बारेमा खुलाउदै भने ‘फिल्मको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ ।

गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ । निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् ।

कमेन्ट गर्नुहोस्