संघर्ष बाट उदाएका कर्ण

फिल्म । नाम- कर्णराज गिरी, पेशा- ट्याक्सी चालक, ठेगाना- सर्लाही । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा आउनुअघि यतिमै सीमित थियो भन्दा हुन्छ उनको परिचय । काठमाडौंको भीडमा सामान्य ट्याक्सी चालकको परिचय बनाएका उनको जिन्दगी तब बदलियो, जब उनी ‘द भ्वाइस अफ नेपाल’को मञ्चमा उभिए । त्यसपछि सांगीतिक उडान भरिरहेका कर्णको संघर्षको ‘कथा भित्रको कथा’ फरक छ । उनले यो पहिचान बनाउन गरेको संघर्षमा टिक्न सहज छैन । बाल्यकालमा रेडियो नेपाल सुन्दै जति चोट दिन्छौ देउ मायालु , हजार आँखा हेर्ने , पर्खी बसे लगायतका गीत गुनगुनाउँदै हुर्किएका कर्ण उनका दाइको कारण संगीत तर्फ आकर्षित भए ।

घरमा उनको सांगीतिक माहोल थियो । उनका साईला दाइ यज्ञ राज गिरी गीत गाउँथे । त्यहिँ देखेर कर्णले गीत गाउन थालेका हुन् । उनका साईला दाइले स्वास्थ्यमा समस्या आएपछि गायनलाई निरन्तरता दिन सकेनन् । त्यसपछि त्यो सपना कर्णमा देख्न थाले । विस्तारै दाइको सपनानै कर्णको सपना बन्यो । ‘स्कुले जीवनमै म काठमाडौं आएको थिए । पढाइ छाडेर गायनकै लागि आएको थिए । तर , एक हप्ता पनि यहाँ टिक्न सकिन’ उनले सम्झिए । घरको कान्छा छोरा भएकाले कर्णलाई काठमाडौंमा काम गर्न सहज भएन । किराना पसलमा समान दिने काम उनले पाएका थिए । ‘१३ बर्षे उमेरमै किरानाको सामना उठाउनु पर्ने , पुर्याउनु पर्ने भएकाले पनि म काममा टिक्न सकिन’ उनले भने । त्यसपछि कर्णले पढ्ने सोच बनाएर गाउँ नै फर्किए ।

तर , उनको उदेश्य संगीत थियो । त्यसैले पढाइमा मन कहाँ लाग्थ्यो र ! फेरी फर्किए काठमाडौं । ‘म आएर ड्राइभिङ सिके । सुरुमा ट्रकको सह चालक बनेर गाडी सिके । १५ वर्षको उमेरमा नै त्यो काम सिक्दै गर्दा डेढ महिनामै काम छोडेर घर पुगे’ कर्णले भने । उनले घर पुगेर पुनः अध्यन गर्न सुरु गरे । यो क्रम उनको जीवनमा धेरै पटक भयो । काठमाडौं आउने र दु:ख पाएपछि घर फर्किने अनि संगीत सुनेपछि पुनः काठमाडौं ।

घरका कान्छा छोरा भएकाले उनले नत संगीतलाई नै छाड्न सके नत दु:ख नै झेल्न । यद्दपी उनेल संगीतको महत्व त्यतिबेला बुझें जतिबेला उनलाई विरामी आमाले ऋण काढेर पैसा दिएर काठमाडौं पठाइन । ‘जा आफ्नो सपना पुरा गर । गायक बन भनेर आमाले मलाइ पैसा दिनुभयो’ कर्णले सम्झिए । त्यसबेला गाउँबाट काठमाडौंसम्म चल्ने नाइट बस चढेर आएका कर्णको आँखा यात्राभर रसाए । काठमाडौं आएपछि चिनेजानेका साथीहरुले बरु ट्याक्सी चलाए संगीत सिक्नका लागि समय निकाल्न सकिने सल्लाह दिएपछि उनले ड्राइभिङ सिक्न थाले ।

ड्राइभिङ सिकेपछि उनले साहुको ट्याक्सी चलाउन थाले । ट्याक्सी चलाउँदा पनि उनको संगीतप्रतिको लगाव र मोह यथावत नै रह्यो । ‘रातभर ट्याक्सी चलाउँदाको आफ्नै छुटै अनुभव छ । कहिँले पैसा नदिएर भागेका छन् भने कहिँले बढी पनि पाएको छु’ कर्णले भने । टयाक्सी गुडाउँडा पनि प्राय गुनगुनाउँदै गर्ने कर्णलाई एक व्यक्तिले केहि बक्सिस पनि दिएका थिए । ‘मेरो आवाज मन पर्यो भनेर मलाइ पाँच सय बढी दिनु भयो । म निकै खुशी भए’ उनले भने । दिउँसो संगीतलाई समय दिने भएकाले कर्णले कहिँले काहीं ट्याक्सी सामान्य ठोकाएका समेत छन् । ‘दिउँसो पूर्ण रुपमा निदाउन नपाएपछि कहिँले काही बेलुकी ट्याक्सी गुदाउदा ठोकिएको समेत छ । किनकी चलाउदा चलाउदै निदाउने रहेछु’ कर्णले भने ।

रातमा टयाक्सी चलाएर दिनमा संगीतलाई समय दिन थालेका कर्ण भ्वाइस अफ नेपालको तेस्रो संस्करणमा अडिसनमा पुगे । त्यो मंचले उनलाई ट्याक्सी चालक कर्णराजबाट गायक कर्णराज बनायो । त्यसपछि उनले टयाक्सी गुडाउन छाडेर आफ्नो सपनालाई पुरा गर्न लागिरहेका छन् । उनी गीत गाइरहेका छन्, संगीतमा रमाइरहेका छन् । यो अवधिमा करिब डेढ दर्जन बढी गीत गाइसकेका छन् । यतिबेला प्राय महोत्सवमा पुग्ने कर्ण खुशी छन् । तर , दुखेसो पनि छ ।

उनलाई गीतसंगीतमा सफल भएको उनको आमाले हेर्न पाइनन् । काठमाडौंमा ब्लाइण्ड अडिसन दिइरहेको बेला उनकी आमा भेन्टिलेटरमा मृत्युसँग लडिरहेकी थिइन् । सफलतातिर पाइला लम्किँदै गर्दा आमालाई यो सब देखाउन नसकेकोमा उनलाई पछुतो छ । ‘आमा र मेरो एक मात्रै सपना थियो, कर्णले गायक बन्नुपर्छ’ कर्ण भन्छन् । संगीतकै कारण आमासँग अन्तिम समयमा समेत साथ् रहन पाएनन् , कर्ण ।

‘भ्वाइस अफ नेपाल’ को प्रतियोगीकै रुपमा रहदा एकदिन आमाले संसार छाडिन् । त्यो समयलाई उनले शब्दमा व्यक्त गर्न सक्दैनन् । आमाको कुरा गर्दा नै भावुक हुने कर्ण त्यो समयमा क्लोज-क्याम्पमा थिए । आमाको मृत्युको शोकमा रहेका बेला पनि उनले संगीतप्रतिको लगावलाई मर्न दिएनन् । भ्वाइस अफ नेपालको स्टेजमा उनले गीत गाइरहे । आमाले संसार छोड्ने बेला कर्ण साथमा थिएनन् । उनलाई यसमा पनि निकै पछुतो छ । आमाले कर्ण संगीतमा आफ्नो भविष्य देखिरहेकाले खबर नगर्नु भनेकी थिइन् ।

कर्णलाई आमाले संसार छाडेको केहि समयपछि मात्र थाहा भयो । आमाले जादाजादै ‘कर्णलाई संगीतमै लाग्न भन्नु है’ भनेकी थिइन् । त्यसैले आमाले संसार छाडेपनि कर्णले स्टेज छाडेनन् । आमाको सपना पुरा गर्न गीत गाए । ‘द भ्वाइस अफ नेपाल’ को स्टेजबाटबिदा भएपछि उनले ‘आमा’ नाममा गीत निकालेर आमालाई समर्पित गरिसकेका छन् । अब उनको सपना नै संगीत, कर्म संगीत र धर्म पनि संगीत भएको छ । किनकी आमाको सपना र उनको सपना एउटै भएको छ । अब उनले आफ्नो सफलतामा आफ्नो मात्र नभई आमाको विश्वास र दाइको सपनालाई पाएका छन् ।

त्यसैले उनको गन्तव्य संगीत मात्र छ । ‘सर्लाहीको सामान्य ठिटोलाई गायक बनाएर सपनाको दुनियाँ संगीतमा स्थापित गराएको छ’ कर्ण भन्छन् । उनले काठमाडौंमा पेटका लागि गर्नुपरेको संघर्ष र भोग्नुपरेको सास्तीबाट पार पाएका छन् । यद्यपि उनले सांगीतिक क्षेत्रमा भने संघर्ष गर्नु त छँदैछ । सफलतालाई बढाउनु छ र आमाको विश्वाससँगै दाइले देखेको सपनामा गन्तव्यमा पुर्याउनु छ ।

कमेन्ट गर्नुहोस्