फिल्म । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । राष्ट्रपतिले शीतलनिवासमा एक समारोहको आयोजना गर्दै २०७६ सालमा घोषित विभूषण प्राप्त गर्ने निर्देशक दिनेश डीसी र अभिनेता निखिल उप्रेतीलाई प्रबल जनसेवा श्री पदकद्वारा सम्मान गरियो ।
यस्तै, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी पदकबाट गायक बद्री पंगेनी, हाँस्यकलाकार मनोज गजुरेल, गायक धीरज राई, निर्देशक फूलमान वल, संगीतकार सुरेश अधिकारी, एकनारायण भण्डारी, अभिनेत्री बसुन्धरा भुषाल, कवि श्रवण मुकारुङ सम्मानित भए । २०७७ सालमा घोषित विभूषण प्राप्त गर्नेहरुमा संगीतकार बुलु मुकारुङ, अभिनेता विल्सनविक्रम राई, उत्तम केसी, फिल्ममेकर मञ्जुकुमार श्रेष्ठ छन् ।
विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत हुनुहुन्छ । यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत हुनुहुन्छ । गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट १ सय १२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २ सय, जनसेवाश्री प्रथमबाट १ सय १०, अलङ्कारतर्फ १ सय ५५ र पदकतर्फ २८ गरी ६ सय ३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४ सय ५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि सुशोभन गरिएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।