प्रिमियरमा रुचाईयो ‘डिग्री माइला’

फिल्म । शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ले बिहीबार बिग मुभिजमा भएको प्रिमियरमा प्रशंसा बटुलेको छ। दयाहाङ राई तथा आँचल शर्माले पहिलोपटक सँगै काम गरेको सिनेमाले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ।

भव्यरुपमा आयोजित सिनेमाको प्रिमियर हेर्न नेपाली फिल्मीकर्मी, कलाकार, पत्रकार तथा नेता बिग मुभीज पुगेका थिए। प्रिमियरमा बिग मुभिजका तीनवटै हल भरिभराउ थिए। हलभित्र ज्यादा भीड नहोस् भने निर्माणपक्षले सिनेमा प्रिमियरको औपचारिक समारोह बाहिर रहेको फुड कोटमा गरेको थियो।

सिनेमालाई लिएर ‘डिग्री माइला’ युनिट त उत्साहित छँदै थिए, प्रिमियरमा पुगेका निम्तालुहरुमा पनि सिनेमालाई लिएर कम उत्सुक्ता थिएन। उनीहरु सबै सिनेमा हेर्न उत्साहित देखिन्थे।

सिनेमा हेरेपछि ‘जारी’मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिइन्। ‘एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन्।

यसैगरी ‘लुट’ अभिनेत्री श्रृजना सुब्बाले सिनेमाको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन्। ‘एकदमै मन कस्तो भारी भइराख्यो। रामबाबुको राम्रो पक्षचाँहि एकदमै गहन कुराहरुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने तरिका एकदमै राम्रो छ। कबड्डीमा जुनप्रकारको थियो, त्यो हिट पनि भयो। योचाँहि मलाई झन् एकदमै मनपर्‍यो। उहाँ काममा बढोत्तरी भइरहेको पाएँ’, उनले भनिन्।

यसैगरी सिनेमाका शीर्ष पात्र दयाहाङ पनि सिनेमासँग खुशी देखिए। उनले पूरै सिनेमा आफूले पनि पहिलोपटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मनपरेको बताए । ‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोशिस गरें । हामीले जो मेहेनत गर्‍या छटं, त्योचाँहि छर्लगै देखिन्छ’, उनले भने ।

यस्तै एमाले नेता एवम् संघीय सासंद रघुजी पन्तले समंग्रमा सिनेमामा मनोरञ्जक रहेको र सिनेमाले सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए। ‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रीरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ। टिपिकल रामबाबुको फिल्म हो। उनको स्टाइल हो’, उनले भने।

यसैगरी उनीहरुका अलावा प्रिमियरमा अभिनेत्री प्रियंका कार्की आफ्ना अभिनेता पति आयुष्मान देशराज श्रेष्ठ र आमासँग पुगेकी थिइन्। उनका अलावा निर्मात्री निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभीनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकारहरू पवन भट्टराई(म्याकुरी), सुन्दर भट्टराई, विल्सन विक्रम राई लगायतका थिए।

कमेन्ट गर्नुहोस्