लाइनअप पुरा भएसँगै ‘तेल भिसा’ को रिलिज तय

फिल्म । शंकर घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘तेल भिसा’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेता विपिन कार्कीलाई अनुबन्धित गर्दै निर्माणको घोषणा गरिएको फिल्ममा वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङसँग पनि कागजी सम्झौता गरेसँगै छायांकनको लागि तयार भएको हो । अमेरिकामा रहँदै आएकी ऋचाले यही फिल्मबाट १० वर्षपछि कमब्याक गर्दैछिन् भने उनका श्रीमान् तथा निर्देशक घिमिरे पनि बाह्र वर्षपछि निर्देशन गर्दैछन् ।

निर्देशक घिमिरे स्वयंको लेखन रहेको यो फिल्मको आगामी वर्षको भदौ २८ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यही मितिमा फिल्म अमेरिकालगायतका देशमा पनि लाग्नेछ । सेभेन सिज इन्टरटेन्मेन्टले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ । उक्त कम्पनिमार्फत विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं ‘तेल भिसा’को निर्मातामा रहेका छन् ।

वेल डन क्रियसनले निर्माणमा सहकार्य गरेको फिल्मको छायांकन आगामी चैत दोस्रो साताबाट सुरु गरिँदैछ । नेपाल र अमेरिकामा खिचिने फिल्ममा विपिनको दोहोरो भूमिका हुनेछ । विदेशमा जाने नेपाली र त्यतै स्थापित हुने क्रमको नेपाली समाजको बदलिँदो स्थितिलाई फिल्मले बोल्नेछ । सुशन प्रजापतीको छायांकन रहने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्