फिल्म । चलचित्र पत्रकार संघ नेपालको मकवानपुर शाखाको १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच शाखाले साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा नेपाल पत्रकार महासंघका सचिव रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो भने चलचित्र पत्रकार संघ नेपालका संगठन उपाध्यक्ष कुवेर डंगोलको पनि सहभागीता रहेको थियो ।
महासंघ केन्द्रीय महासचिव बिष्टले मुलुकमा पूर्णप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम रहनुपर्ने बताए । यस्तै संगठन उपाध्यक्ष डंगोलले मोफसलमा रहेर पनि मकवानपुर शाखाले बढाएको सक्रियताको प्रसंसा गरे । ‘यतिबेला नेपाली फिल्मलाई लयमा ल्याउन हाम्रो खबरदारी र सक्रियता आवश्यक छ’ उपाध्यक्ष डंगोलले भने । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले मोफसलको कठिनाइ झेल्दै १२ औं साधारण सभासम्म आइपुगेको यात्राको भोगाइले परिपक्क बनाएको बताए ।
साधारणसभामा संघका संस्थापक कार्यसमिति अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष सुनिता शर्मा लुईटेल, कोषाध्यक्ष सुधिरभद्र श्रेष्ठ, सहसचिव बालकृष्ण अधिकारी, सदस्यहरुमा रामशरण दुलाल, सुजन विडारी, कपिल खड्का, श्रद्धा ढुङ्गानालाई कदरपत्रले सम्मान गरिएको थियो ।
सभामा मकवानपुरका चलचित्र निर्देशकद्धय गोबिन्द गौतम, रमेश राई, कलाकार अमिर गौतम, ध्रुव न्यौपाने, नाट्यकर्मी उज्वल शर्मा भण्डारी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव काव्यमणि अधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्यका साथै मकवानपुरमा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।










