‘फिल्ममा गोर्खालीको वीरता’ (भिडियो)

फिल्म । पछिल्लो समय छिमेकी मुलुक भारतसँग सिमानालाई लिएर विवाद भइरहेको छ । नेपाली जनताले अब भारतसामु नझुकेर आफ्नो वीरताको परिचय दिन सामाजिक सञ्जालमा आवाज उठाइरहेका छन् । नेपालललाई केहि भारतीय मिडियामा ‘गुलाम’ भनिएपछि नेपालीहरुले इतिहास पल्टाएर हेर्न सुझाईरहेका छन् । यसै परिस्थितिका बीचमा मिलन चाम्सले निर्माण गर्ने भनिएको फिल्म ‘गोर्खा वारियर’ को केहि झलक सार्वजनिक गरेका छन् ।

उनले आफ्ना च्यानल मार्फत सार्वजानिक गरेको दृश्य फिल्मको ‘स्क्रिन टेस्ट’ का लागि लिइएको हो । सार्वजनिक दृश्यमा गोर्खालीको वीरतालाई लिएर विश्वका प्रसिद्ध हस्तीले दिएको भनाइ र गोर्खालीले सेवा गरिरहेको रेजिमेन्टको बारेमा समेत उल्लेख गरिएको छ । अन्य देशमा मेकरले ढुक्क भएर ‘हिडेन हिरो’ को कथालाई अगाडी ल्याईरहेको अवस्थामा मिलनले पनि गोर्खालीको वीरताको गाथालाई पर्दामा ल्याउदै छन् ।

‘फिल्मको बजेट राम्रो हुने भएको हुँदा हामीले स्क्रिन टेस्ट लिएका थियौ । यसलाई तयार गरेर टिमले हेर्यौ । हामीले पर्दामा गोर्खालीको गाथा भन्दैछौ , जसलाई संसारभर वीरको नामले चिनिने गरिन्छ । त्यसैले हामीले केहि दृश्यलाई खिचेर एउटा भिडियो बनाएका थियौ’ मिलनले भने । उनले राम्रै बजेटमा वीर गोर्खालीको कथालाई पर्दामा हेर्न पाइने बताएका छन् ।

‘हाम्रो टिम र हाम्रो नजिकका साथीले यसलाई राम्रो प्रतिक्रिया दिनु भएको छ , त्यसैले हर्षित छौँ । तर , सार्वजानिक गरिएको यो दृश्य फिल्ममा भने हुनेछैन , यो हामीले हेर्नका लागि मात्र खिचेका हौँ’ मिलनले भने । उनले यो भन्दा राम्रो दृश्य र सेटअपलाई फिल्ममा हेर्न पाउने बताए । ‘वीर गोर्खालीको कथा विश्वमै चर्चित छ तर हामी यसलाई बनाउन र देखाउन किन कन्जुस्याई गरिरहेका छौ ? किनकी धेरै वीरताको गाथा हामीसँग छ’ मिलनले भने ।

फिल्ममा गोर्खालीको वीरतालाई फिल्मी शैलीमा प्रस्तुत गरिनेछ भने यसको मेकिङ अन्तराष्ट्रिय स्तरको हुनेछ । फिल्मको आधा काम हलिउडका प्राविधिकले गर्नेछन् । फिल्मको सार्वजनिक दृश्य मार्फत आम दर्शकको प्रतिक्रिया पाइने भएकाले उनले यसलाई युट्युब मार्फत सार्वजनिक गरेका हुन् । प्रदीप भारद्वाजको लेखन रहने फिल्म मार्फत रितेश चाम्सले डेब्यु गर्दैछन् । लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलोसँगै केही हलिउड कलाकारको अभिनय समेत रहने बताइएको छ । ‘हामीले हाम्रो कथालाई देखाउने बेला आइसकेको छ’ मिलनले भने ,’यो मेरो लागि चुनौती पनि हो किनकी गोर्खालीको वीरता देखाउन सहज छैन ।’ विशेषत उनले मेकिङमा सम्झौता नगर्ने बताए ।

कमेन्ट गर्नुहोस्