देश । गत चैत्र ११ गतेदेखि देश लकडाउनमा छ । गत वर्षको डिसेम्बरको अन्तिम साता पहिलो पटक चीनमा देखिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीक रुप लिएसँगै नेपालमा पनि दोस्रो संक्रमित भेटिएपछी सामाजिक दुरी कायम गर्न लकडाउन गरिएको हो । लकडाउनका कारण नेपाल ठप्प छ । यसै बीच नेपाल सरकार अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान रहेको भन्दै कांग्रेसले सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरीत भएको बताएको छ । कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेको थियो ।









