मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत

विदेश । कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ । बुधबार कान्सास सिटी स्टेडियममा भएको समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा मेसीले ह्याट्रिक पूरा गरे । उनले १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए । यससँगै अर्जेन्टिनाले प्रतियोगितामा तीन अंक जोड्दै समूहको शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ ।

मेसीले पहिलो गोल अल्जेरियाको पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहारमार्फत गरेका थिए । दोस्रो गोलका क्रममा एलेक्स म्याक एलिस्टरको प्रारम्भिक प्रहार अल्जेरियाली गोलरक्षक लुका जिदानले रोके पनि रिबाउन्ड भएको बललाई मेसीले जाली चुमाएका थिए । उनको तेस्रो गोल पनि पेनाल्टी क्षेत्रबाहिरबाट आएको उत्कृष्ट प्रहारमार्फत सम्भव भएको थियो । मेसीको प्रभावशाली प्रदर्शनका कारण अल्जेरियाले खेलमा पुनरागमनको अवसर नै पाएन ।

यस ह्याट्रिकसँगै मेसीको विश्वकपमा कुल गोल संख्या १६ पुगेको छ । उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकप इतिहासकै सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । यही खेलमार्फत मेसीले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेका छन् । साथै, उनी विश्व फुटबल इतिहासमा छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

कमेन्ट गर्नुहोस्