चिनीको मूल्य ६३ रुपैयाँ तोक्न निर्देशन

जयहोस् । संघीय संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठक मार्फत खुद्रा विक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘चाडपर्व नजिकिदै गर्दा दैनिक उपभोग्य सामग्रीको मुल्य बढ्न सक्छ , यसतर्फ सचेत रहन सुझाएका छौ’समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी ओली र चिनी उद्योगीबीच केही समय अघि भएको सहमति अनुसार चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न समितिले सरकारलाई कडा निर्देशन दिएको हो ।

बैठकले चिनीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका सम्बन्धमा छानबिन गरी समस्या समाधानका लागि सरकारलाई आवश्यक निर्देशन दिन उपसमिति समेत गठन गरेको छ । लेखराज भट्ट नेतृत्वको उपसमितिमा प्रेम आले, पार्वता डिसी चौधरी, चन्दा चौंधरी र प्रदिप यादव सदस्य रहेका छन् । समितिले उखु किसानको बक्यौता रकम १५ दिनभित्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।

कमेन्ट गर्नुहोस्