मानभी फाउण्डेशनद्वारा ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ को घोषणा

विदेश । मानभी फाउण्डेशनले क्यानडामा बसोबास गर्ने नेपाली समुदायका लागि ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ को घोषणा गरेको छ । यो कार्यक्रमले अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी, युवा तथा क्यानडामा बस्ने सबै नेपालीलाई आफ्नो सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।

मानभी स्टुडियोजको एक वर्षको सफलतापछि स्थापना भएको मानभी फाउण्डेशनले यो उत्सवमा निःशुल्क दर्ता गरी सहभागिता जनाउन सकिने व्यवस्था गरेको छ । क्यानडामा नेपाली समुदायको सङ्ख्या बढ्दै जाँदा सांस्कृतिक कार्यक्रमहरू लोकप्रिय हुँदै गएका छन् र यो फेस्टले नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

कार्यक्रममा नृत्य, गायन, फोटोग्राफी, भिडियो निर्माण, कविता, कला, सङ्गीतलगायत विभिन्न विधामा रुचि राख्ने नेपालीहरूले अनलाइनमार्फत सहभागिता जनाउन सक्नेछन् । प्रतिस्पर्धाको मूल्याङ्कन नेपाल, क्यानडा र अमेरिकाका ख्यातिप्राप्त निर्णायकहरूले भर्चुअल रूपमा गर्नेछन्, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउनेछ ।

कार्यक्रमको ग्रान्ड फिनाले टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना हुनेछ, जहाँ प्रतिभाशाली सहभागीहरूले मञ्चमा आफ्नो प्रस्तुति दिनेछन् । यो प्रतिस्पर्धा मात्र नभई सांस्कृतिक एकता, प्रतिभा अभिव्यक्ति र नयाँ सञ्जाल निर्माणको अवसर भएको आयोजकले जनाएको छ । मानभी फाउण्डेशनले सबै नेपालीलाई आफ्नो कला प्रस्तुत गर्न र अन्य सिर्जनशील व्यक्तिहरूसँग जोडिन आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्