देश । वीरगञ्ज महानगरपालिकामा देखिएको १७ जना नयाँ कोरोना भाइरस भाइरस (कोभिड १९) संक्रमित सबै एकै परिवारको रहेको खुलेको छ । महानगरपालिकाको छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । संक्रमितमा दुइ महिने शिशु र ६ महिनाकी बालिकासँगै ३, ९, १४, १३ र १४ वर्षीय बालिक र १३ वर्षीया दुई बालिका छन् । यो परिवारको ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको २१ वैशाखमा पुष्टि भएको थियो ।
नारायणी अस्पतालमा उपचाररत उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण गर्ने क्रममा सोमबार ३२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । त्यसमध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । वीरगञ्जमा कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि नारायणी अस्पताललाई कोभिड अस्पताल तोकिएको छ । बुधबार थपिएका १७ संक्रमितलाई पनि यही अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । यो सँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या २८ पुगेको छ ।







