मिङ्ग्माको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ लोकार्पण

देश । पर्यटन प्रवर्द्धक मिङ्ग्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट लोकार्पण भएको छ । धुम्बराहीस्थित आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पुन, लेखक शेर्पाको साथमा प्रकाशक संस्था जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, गीतकार देवेन्द्र केसीले उक्त पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।

लास्ट फ्रन्टिएर ट्रेकिङको आयोजनामा भएको उक्त ‘सगरमाथाको शेर्पा म’ लोकार्पण कार्यक्रममा उपस्थित अतिथिहरुलाई निमा तेन्जिङ शेर्पाले स्वागत मन्तव्य दिँदै आफ्नो पापा तथा लेखक शेर्पा एउटा उदाहरणका रुपमा आफूले पाएको बताएका थिए । पारिवारिक रुपमा पुस्ता हस्तान्तरणसँगै आफ्नो पूर्खाको इतिहासलाई उजागर गर्न, मानवसेवा र सामाजिक कार्यमा निरन्तर लाग्न प्रेरित गर्ने कार्यमा पापा एक उदाहरणको रुपमा लिएको बताए ।

कार्यक्रममा लेखक शेर्पालाई बौद्धिक युवाहरुको समूहको तर्फबाट सम्मान गरिएको थियो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, संगीतकला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, गीतकार तथा संचारकर्मी नरेश भट्टराई, गीतकार सत्यकला लामाले संयुक्त रुपमा लेखक शेर्पालाई सम्मान गरेका थिए । शेर्पालाई पर्यटन क्षेत्रको प्रवर्द्धन, मानव सेवा, सामाजिक कार्य हुँदै देशको नामलाई विश्वसामु उच्च राख्न गर्नुभएको योगदान स्वरुप सम्मान अर्पण गरिएको थियो ।

पुस्तक ‘सगरमाथाको शेर्पा म’ लोकार्पण पछि शुभकामना मन्तव्य दिँदै छायाँ लेखक सिर्जना शर्माले लेखक शेर्पा समाजको एक अथक योद्धाका रुपमा पाएको बताएकी थिइन् । उहाँको लेखन, अडियो रेकर्डलाई आफूले पुस्तकमा भाषागत रुपमा प्रस्तुत गर्न पाउँदा शेर्पाको जीवन भोगाईले आफ्नो जीवनमा समेत उर्जा थपेको बताएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पण पुस्तक ‘सगरमाथाको शेर्पा म’ एउटा प्रेरणाको स्रोत बन्ने विश्वास लिएको बताए । पहिलो भेटमा नै लेखक शेर्पाको कुराले आफूलाई आकर्षित गरेको बताउँदै पूर्वउपराष्ट्रपति पुनले एउटा कर्मठ नेपाली छोरो, मेहनत गरे के हुँदैन ? भन्ने ज्वलन्त उदाहरण भएको बताए । उहाँको पापादेखि नाति पुस्तासम्मको संस्कार, दुःखसुखलाई जोड्ने इतिहास रहेको बताउँदै ‘सगरमाथाको शेर्पा म’ पुस्तकबाट धेरैले ज्ञान लिन सक्ने बताए ।

लेखक शेर्पाले आफू जन्मेको सोलुदेखि जापान, काठमाडौंसम्मको यात्रामा भोगेका दुःखका पानाहरु पल्टाउँदा एउटा दस्तावेज निर्माण भएको बताए । खाली खुट्टा सोलुको हिउँमा खेलेका यादहरुदेखि हिमाल चढ्दा होस् या पापाको पदचाप पछ्याउँदै हिंडेका दिनहरु हुन् सबै स्मरणीय बनेको बताए । उनले यो पुस्तक निर्माण हुनुमा पहिलो श्रेय आफ्नी स्वर्गीय श्रीमतीको रहेको बताउँदै यहीँ कतै टेबलमा बसेर पेम्बा याङ्गजीले सुनिरहेकी छन् भन्दै भावुक बनाए । मेरा बाबाले गरेको दुःखको कथा, मैले भोगेको जिन्दगी, मेरा छोराहरुले भोगेको वर्तमान र नाति नातिनीहरुको भविष्यलाई जोड्ने र आफ्नो पूर्खाको इतिहासलाई सम्झाउने प्रयास गरेको बताए ।

‘सगरमाथाको शेर्पा म’ पुस्तक निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरे । उनले पुस्तक लेख्नलाई हौस्याउने जेनकवि कृष्ण प्रसाई, गीतकार देवेन्द्र केसी र उर्जा दिइरहने जीवन संगीनी र परिवारप्रति नतमस्तक रहेको बताए ।

त्यसैगरी जरा फाउन्डेसनका अध्यक्ष एवं कार्यक्रमका सभापति जेनकवि कृष्ण प्रसाईंले कार्यक्रम समापन गर्दै लेखक शेर्पा पर्यटन क्षेत्रको एउटा अथक योद्धा भएकै कारण दुखद भोगाईको सफल व्यक्तित्व भएको बताए । सरल स्वभाव, असल व्यक्तित्व, मानवसेवी, सामाजिक विकासको खम्बा र सम्पूर्ण नेपालीको लागि प्रेरणाको स्रोत भएको बताए । कार्यक्रमलाई नरेश भट्टराईले संचालन गरेका थिए भने सुमन बैरागीले कार्यक्रममा मिडिया संयोजनको भूमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्