नेपालमा संक्रमितको संख्या ८२

देश । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दो छ । सरकारले लकडाउन गरेको ६ हप्ता पार भएता पनि संक्रमित संख्या बढ्ने क्रम रोकिएको छैन । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयले दिएको जानकारी अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । यसअघि आइतबार बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नेपालगन्जका कोरोना संक्रमित अनपेक्षित देखिएपछि ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि टोली पुगेको छ । नेपालगन्जमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाब संकलन मंगलबारबाट शुरु हुने भएको छ ।

कमेन्ट गर्नुहोस्