खेलकुद । सन् १९९२ को युरो विजेता डेनमार्क २९ वर्षपछी सेमिफाइनलमा पुगेको छ । पहिलो हाफमा गरेका दुई गोलमा डेनमार्कले शनिबार युरो २०२० मा चेक गणतन्त्रलाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो । शनिबार राति अजरबैजानको बाकुमा भएको खेलमा थोमस डेलानीको गोलमा डेनमार्कले पाँचौं मिनेटमा अग्रता लिएको थियो । जेन्स स्टेगरको कर्नरमा अनमार्क रहेका डेलानीले हेडबाट गोल गरे ।
डेनमार्कको दोस्रो गोल कास्पर डोलबर्गको नाममा रह्यो । उनले जोकिम माहेलको क्रसलाई पोस्टका दिशा दिए । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले एक गोल फर्काए । उनले ४९औं मिनेटमा भ्लादिमिर कोफलको क्रसलाई चलाखीपूर्ण ढंगले गोलमा परिणत गरे । यो उनको प्रतियोगितमा पाँचौं व्यक्तिगत गोल रह्यो । यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा संयुक्त रूपमा उक्लेका छन् । पोर्चुगलको क्रिस्टियानो रोनाल्डोले पनि समान पाँच गोल गरेका छन् । (एजेन्सी)









