देश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम गर्न नेपाल सरकारले लकडाउन गरिरहेको छ । गत चैत्र ११ गतेदेखि भएको ‘लकडाउन’ अझै वैशाख २ गतेसम्म हुनेछ । यसपछी एकसाता अझै बढाउँन सक्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा गर्नु भएको छ । अर्थात् नेपालमा पनि १ महिनाको लकडाउन हुनसक्नेछ । नेपालले अन्य देशमा देखेर पनि पर्याप्त तयारी गर्न नसकेको आरोप यतिबेला लागिरहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण ९ जनामा देखिएको छ । जसमा काठमाडौंमा ३, धनगढीमा ४ र बागलुङ २ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौमा उपचारत एक जना निको भएर घर गएका छन् भने अन्य आठ जना विभिन्न अस्पतालमा उपचारत रहेको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन अपनाउनु पर्ने हरेक प्रक्रियामा सरकार सजग रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । सरकारले सातै प्रदेशमा कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्थामा राखिएको समेत उनले जनाए । सातै प्रदेशमा गरी ३६ हजार ४६१ शय्या क्षमताको क्वारेन्टाइन तयार गरेको जनाएको छ । त्यस्तै, तीन हजार २०१ आइसोलेसनमा बेड तयारी अवस्था राखेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. देवकोटाले सातै प्रदेशका क्वारेन्टाइनमा आठ हजार ५८० जना रहेका जानकारी दिए ।
सरकारले सातै प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जम्मा ३६ हजार ४६१ शय्या क्षमताको क्वारेन्टाइन तयार गरेको जनाएको छ । जसमा प्रदेश १ मा तीन हजार ८ ८० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको जनाएको छ । त्यसैगरी, प्रदेश २ मा तीन हजार २२७ वेड, बागमती प्रदेशमा चार हजार ३३३ बेड, गण्डकी प्रदेशमा चार हजार ७१५, प्रदेश ५ मा पाँच हजार ११६, कर्णाली प्रदेशमा दुई हजार ७८८ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ४१२ क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले सातै प्रदेशमा तीन हजार २०१ आइसोलेसन बेड तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४३२ आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । भने प्रदेश २ मा २९४ बेड तयारी अवस्था रहेको जनाएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ९५८ आइसोलेसन बेड, गण्डकी प्रदेशमा २६५ आइसोलेसन, प्रदेश ५ मा ५१२ आइसोलेसन बेड, कर्णाली प्रदेशमा ४६६ र सुदूरपश्चिममा २७४ आइसोलेसन बेड तयारी अवस्था राखेको प्रादेशिक स्वास्थ्य निर्देशनालय र गृह मन्त्रालयले जनाएको छ । उल्लेखित क्वारेन्टाइन र आइसोलेसन बेडको संख्यामा काठमाडौं उपत्यकाका अस्पतालको रिर्पोट समावेश नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












