संगीत । संचार क्रियशनको आयोजनामा नेपाल भाषाको पहिलो म्युजिक अवार्ड ‘नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९’ राजधानीमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अवार्ड समारोहमा नेपाल भाषासँग सम्बन्धित विभिन्न विधाका स्रस्टा तथा कलाकारहरुले अवार्ड चुमेका छन् । पहिलो म्युजिक अवार्ड ‘नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९’मा वेष्ट डेब्यू मोडल तर्फ अभिनेता मोडल निराजन प्रधान उत्कृष्ट चुनिएका छन् । प्रधानले गीत ‘वा दिल मै वा वा…’ बोलको गीतबाट सर्वोत्कृष्ट नवोदित मोडल पुरुष विधामा अवार्ड जितेका हुन् । मोडल महिलातर्फ करुणा श्रेष्ठले अवार्ड चुमिन् ।
गत जुलाईमा रिलिज भएको उक्त गीतमा निराजन रक्षा श्रेष्ठसँग अभिनयमा थिए । पछिल्लो समयका सर्वाधिक व्यस्त मोडल मध्येका एक प्रधान नेपाली म्युजिक भिडियोमा महंगा मोडल मानिन्छन् । सयौं भिडियोमा मोडलिङ गरिसकेका प्रधानले भिडियोसँगै फिल्ममा समेत अभिनयको अनुभव संगालिसकेका छन् । पछिल्लो समय दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्ममा अभिनय गर्ने तयारीमा रहेका प्रधानले अवार्डले हौसला मिल्ने बताए । ‘हामीले गरेको मेहनतको मुल्यांकन हुँदा सार्है खुसि लाग्छ’ प्रधानले भने ।












