निर्मात्री हुँदै निर्देशक बनिन् कृषा

फिल्म । नेपाली फिल्म उद्योगमा कुनै समय कान्छी निर्मात्रीको पहिचान बनाएकी कृषा चौलागाईं निर्देशनमा डेब्यु गर्दैछिन् । ‘इन्साफ’ मार्फत निर्मात्री बनेकी कृषाले आफूलाई निर्देशकको रुपमा परिचय गर्दा डेढ दशक समय बिताइन । भदौ १४ गतेबाट प्रदर्शनमा आउने निर्देशकीय डेब्यु फिल्म ‘ऐंचो पैंचो’ अगाडी उनले कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, पलास निर्माण गरिसकेकी छिन् भने सुश्री उनले लेखेको फिल्म हो ।

यी अनुभवलाई संगालेर निर्देशनको सुरुआत गरेको कृषाले बताइन । ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीको रुपमा जोडिएता पनि केही वृतचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो मेरो एक्लो भन्दा पनि सम्पूर्ण समुहकै प्रयाशले सफल भएको हो’, निर्देशक कृषाले भनिन् । निर्देशक कृषाले आफ्नो लगावकै कारण निर्देशन यात्रा सुरू भएको जानकारी दिईन् ।

राजनीतिक विषयलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको फिल्म ‘ऐंचो पैंचो’ मा स्वस्तिमा खड्का, सुशील सिटौला, वर्षा राउत, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारले अभिनय गरेकाछन् ।

बुलबुल, चिसो मान्छे जस्ता कलात्मक फिल्ममा अभिनय गरेकी अभिनेत्री खड्का आफूले अभिनय गरेको पछिल्लो फिल्म ‘ऐंचो पैंचो’ लाई पूर्ण रुपमा व्यावसायिक भन्न रुचाउछिन् । उनले भनिन्,‘यो फिल्म मेरो लागि खास छ । किनकि यसमा पूर्ण रुपमा मनोरंजन छ । म सबै विधाको फिल्म गर्न चाहन्छु ।’ उनले यसमा फिल्मी महसुश गरेको समेत बताइन ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन, सुजील कर्माचार्यको पाश्र्व सङ्गीत, रेनिश फागोको रङ्ग संयोजन, सत्यम राणको भिएफएक्स, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्