सौन्दर्य । छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२ मा शिवानी थापामगरले प्रथम स्थान हासिल गरेकी छिन् । काठमाडौँ, कपनको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले आयोजना गरेको यो राष्ट्रिय नृत्य प्रतियोगितामा शिवानीले ट्रफी, मेडल, १ लाख रुपैयाँ नगद र कक्षा ११ र १२ को पूर्ण छात्रवृत्ति जितिन् ।
शनिबार साँझ नाचघरमा आयोजित ग्रान्ड फिनालेमा २० अन्तिम प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा एग्रिया सिंह दोस्रो हुँदै ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्लस टुको पूर्ण छात्रवृत्ति प्राप्त गरिन्। तेस्रो स्थान हासिल गरेका गोविन्द गुरुङ कुसुमले ३० हजार रुपैयाँ, मेडल, ट्रफी र प्लस टुको पूर्ण छात्रवृत्ति जिते ।
उत्कृष्ट १० मा परेका सबै प्रतियोगीले मनासलु लगायतका कलेजबाट प्लस टुको पूर्ण छात्रवृत्ति प्राप्त गरे। तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कार र प्लस टुको छात्रवृत्ति, प्रशिका अधिकारीले पब्लिक च्वाइस अवार्डसहित छात्रवृत्ति, मेडल र ट्रफी, तथा गौतम खड्काले ‘बेस्ट स्किल अवार्ड’ सहित छात्रवृत्ति हासिल गरे । शिवानीका कोरियोग्राफर अविनाश हमाल उत्कृष्ट कोरियोग्राफर चुनिए ।
प्रतियोगिताको निर्णायकमा कोरियोग्राफरहरू गम्भीर बिष्ट, प्रिन्स श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन र शान्ति कठायत थिए । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गरेका थिए । उनले विजेताहरूलाई शुभकामना दिँदै नृत्य र पढाइलाई सँगै अघि बढाउन प्रेरित गरे । आयोजक महेश गोदारले नृत्य र शिक्षालाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।
सो अवसरमा नेपाली गीत–संगीत र नृत्य क्षेत्रमा योगदान पुर्याउने अग्रज गायक नारायण रायमाझी र नृत्य विज्ञ रामचन्द्र (आरसी) कोइरालालाई सम्मान गरिएको थियो ।












