फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण अहिले विश्वनै ठप्प छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारीलाई रोक्न सकिने भएको हुँदा अहिले विश्वका अधिकांस देश लकडाउन छ । भारतमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । यसैले गर्दा त्यहाँको ठुलो उद्योगको रुपमा चिनिने बलिउड ठप्प छ । बलिउडका कयौ फिल्म काम सकाएर पनि अड्किएका छन् । आउनुस् अक्षय कुमार , अजय देवगन र आलिया भट्टको अड्किएको फिल्मको चर्चा गरौँ ।
अक्षय कुमार
बलिउडमा अक्षय कुमार पछिल्लो समय बढी फिल्म गर्ने कलाकारमा पर्छन् । हुन् त सुरुवाती दिनमा पनि यिनले धेरै फिल्म गर्ने गरेका थिए तर दशक अगाडी त्यसमा ब्रेक लागेको थियो । पछिल्लो केहि वर्ष यता भने अक्षय वर्षमा ४ फिल्म आरामले गर्ने गरेका छन् । रिलिज पनि त्यहि अनुरुप नै हुने गरेको छ । अक्षय अभिनित फिल्म ‘सूर्यवंशी’ अन्तिम समयमा आएर अड्कियो । योसँगै उनको फिल्महरु लक्ष्मी बम्ब , बच्चन पाण्डे , पृथ्वीराज , अतरंगी रे अड्किएको छ । कोरोना भाइरस अगाडीनै उनले लक्ष्मी बम्बको काम पुरा गरिसकेका छन् भने केहिको छायाँकन समेत भइसकेको छ । अक्षयको फिल्म लक्ष्मी बम्ब डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा समेत छ ।
अजय देवगन
अजय देवगन पनि केहि समय यता सफल हुनुका साथै फिल्म पनि लगातार गरिरहेका छन् । उनले अभिनय गरेका फिल्मलाई दर्शकले रुचाएका छन् । यसैले गर्दा उनले पनि वर्षमा ४ फिल्म गर्ने गरेका छन् । लकडाउनले गर्दा अजयको पनि प्रोजेक्टहरु अड्किएका छन् । भुज , मैदान , चाणक्य , गोलमाल ५ लगायतका फिल्मको तयारीमा उनि थिए । यसका साथै ‘आरआरआर’ र ‘सूर्यवंशी’ मा पनि उनको अभिनय रहेको छ ।
आलिया भट्ट
पछिल्लो पुस्ताकी स्टार भनेर चिनिने आलिया भट्ट पनि बलिउडमा सफलताको सिढी चढ्दैछिन् । लकडाउनले उनको फिल्मको सेड्युल पनि विगारेको छ । ब्रह्मास्त्र रिलिजको तयारीमा रहेता पनि यो सम्भावना टरेको छ । यसपछि गंगुवाई कठियावाडी र तख्त उनको बीग बजेटको फिल्म हो । गंगुबाई कठियावाडीको सेट समेत बनिसकेको थियो तर कोरोना भाइरसको कारण छायाँकन हुन् सकेन । त्यसपछि ‘तख्त’ को पनि तयारी भएको थियो । यस्का साथै उनको सडक २ को काम पनि लगभग सकिएको थियो । आरआरआरमा पनि आलिया छिन् ।
(एजेन्सी)









