फिल्म । दर्शकले रुचाएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठले पुनः स्क्रिन शेयर गर्ने भएका छन् । यी दुइको अभिनय रहने नया फिल्म ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत गरिएको छ । शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा पूजा-आजा गरिएको फिल्म प्रेमकथानक बन्नेछ । दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने फिल्म्न्लाई निमेष प्रधानले निर्देशन गर्नेछन् ।
आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई शिव ढकालले खिच्नेछन् । आउँदो कार्तिकको तेस्रो साताबाट यसको छायाँकन हुनेछ ।
‘रामकहानी’ बाट स्क्रिनमा जोडी बनेका पुजा र आकाशको यो चौथो सहकार्य हो । यो जोडीले ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्यो काले’मा अभिनय गरिसकेको छ । यो जोडी अभिनित ‘पोइ पर्यो काले’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।










