फिल्म । आगामी मङ्सिर ११ गते अर्थात् यही शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारथी’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । समितिले मंगलबार फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यससँगै अब सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने छन् ।
निर्देशक कुमार गजुरेलका अनुसार जाँच समितिका पदाधिकारीले पनि पारिवारिक कथामा आधारित फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । फिल्मका टिजर, गीत तथा ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् ।
फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन्। सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन्। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। फिल्मका कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्।
फिल्ममा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माताका रूपमा छन् भने अमिर केसी लाइन प्रोड्युसर हुन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको फिल्ममा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।









