फिल्म । अरुण क्षेत्रीको मुख्य भूमिकामा निर्माण भइरहेको एक्सन ड्रामा फिल्म ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ । ४५ दिनको तालिकामा पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको ‘इन्डक्ल्याप’ गरिएको निर्माण पक्षले जनाएको छ । फिल्म ‘हन्टर’ को निर्देशन जीवन सिंहले गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको यस फिल्ममा निर्देशनसँगै लेखन र सम्पादन पनि सिंहले नै गरेका छन् ।
निर्देशक सिंहका अनुसार ‘हन्टर’ सुदूरपश्चिमको कथामा आधारित एक्सन इन्टरटेनेर फिल्म हो । फिल्म वास्तविक पात्रको कथाबाट प्रेरित भए पनि त्यसमा फिक्सनको प्रयोग गरिएको उनले बताएका छन् ।
फिल्मको मुख्य भूमिकामा अरुण क्षेत्री देखिनेछन् । उनका साथमा प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीको अभिनय रहेको छ ।
फिल्ममा कृष्ण थापाको छायांकन (डीओपी), शुक्रराज साहको एक्सन निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी तथा बाबुल गिरीको संगीत रहेको छ । ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बनेको यस फिल्मका कार्यकारी निर्माता रोयल भिमसेन हुन् । फिल्मका निर्माता ममता सिंह, गोविन्द राज रोक्का र राज ए. भट्ट रहेका छन् भने मनीष चन्द सह निर्माताको रूपमा संलग्न छन् ।











