अनमोललाई पलको स्वागत

फिल्म । अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा आफ्नो प्रदर्शनरत फिल्म ‘बाटुलो जुन’ को हल भिजिटका लागि मोफसलमा छन् । उनीहरू भ्रमणकै क्रममा दाङ पुगेर दर्शकसँग भेटघाट गरेका थिए, जहाँ उनीहरूलाई दर्शक तथा शुभचिन्तकहरूले भव्य स्वागत गरेका छन् । यसैबीच, अभिनेता पल शाहले पनि सामाजिक सञ्जालमार्फत अनमोललाई आफ्नो गृहजिल्ला दाङमा स्वागत गरेका छन् ।

पलले अनमोललाई ‘सुपरस्टार’ भन्दै आफ्नो जिल्लामा स्वागत गरेका हुन् । पलको यस आत्मीय स्वागतले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सहकर्मी कलाकारप्रति उनले देखाएको सद्भावको दर्शकहरूले प्रशंसा गरेका छन् ।

पलको स्वागतप्रति आभार व्यक्त गर्दै अनमोलले पनि दाङ घुम्न बाँकी रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद साथी, हामी फेरि दाङ सँगै घुम्नेछौँ। घुम्न बाँकी छ।’

यसअघि विभिन्न कार्यक्रममा पनि अनमोलले पलसँग आफ्नो भेटघाट र कुराकानी भएको बताउँदै उनी आफूलाई मन पर्ने कलाकार रहेको प्रतिक्रिया दिएका थिए। यता, अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जुन’ले घरेलु बजारमा ६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको निर्माण पक्षले जनाएको छ। भुवन केसीको निर्देशन रहेको फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा र गरिमा पन्तलगायत कलाकारको प्रमुख भूमिका छ।

प्रमुख कलाकारसहितको टोली अहिले दर्शकको प्रतिक्रिया लिन मोफसल केन्द्रित प्रचारप्रसारमा व्यस्त छ। उपत्यका र उपत्यकाबाहिरका विभिन्न हलमा फिल्म उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ। सनराइज पिक्चर्स र भविष्य फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ।

कमेन्ट गर्नुहोस्