विदेशी बजारमा ‘बेहुली’को उच्च माग

फिल्म । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘बेहुली’ ले स्वदेशमा रिलिज हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ। निर्माण पक्षका अनुसार फिल्मका प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार बिक्री भइसकेको छ। निर्माण टिमले सार्वजनिक गरेको जानकारीअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतजस्ता नेपाली फिल्मका प्रमुख अन्तर्राष्ट्रिय बजारमा ‘बेहुली’को वितरण अधिकार बिक्री भएको हो।

अस्ट्रेलियाको प्रदर्शन अधिकार ‘आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ। त्यहाँ फिल्म नेपालकै मिति भदौ २६ गतेबाट प्रदर्शनमा आउनेछ। अमेरिका र क्यानडाका लागि ‘चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन’ले वितरण अधिकार लिएको छ भने दुबई, कतार र बहराइनलगायत मध्यपूर्वका देशहरूमा ‘साथीभाइ इन्टरटेन्मेन्ट’ले फिल्म प्रदर्शन गर्नेछ। यी बजारहरूमा पनि फिल्म भदौ २६ मै रिलिज हुनेछ।

बेलायतमा भने फिल्मको प्रदर्शन अधिकार ‘९७७ इभेन्ट्स’ले खरिद गरेको छ। त्यहाँ फिल्म असोज १६ गतेबाट प्रदर्शनमा आउने तय भएको छ। निर्माण पक्षले यतिबेला फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ। हालसम्म फिल्मको फर्स्ट लुक पोस्टर र पहिलो गीत सार्वजनिक भइसकेको छ। हालै सार्वजनिक गरिएको ‘दिलमा ठाउँ छ’ बोलको लोकशैलीको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको छ।

निर्माण पक्षका अनुसार गीतले रिलिज भएको छोटो समयमै युट्युबमा करिब ३० लाख भ्युज र टिकटकमा करिब ६ लाख भिडियो सिर्जना गराएको छ। फिल्मका अन्य गीत तथा ट्रेलर भने सार्वजनिक हुन बाँकी छन्।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको फिल्ममा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।

कमेन्ट गर्नुहोस्