फिल्म । हलिउड अभिनेता रोबर्ट प्याटिनसन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । जेम्स बन्ड फ्रेन्चाइजको आधिकारिक सामाजिक सञ्जालमार्फत सोमबार यसबारे पुष्टि गरिएको हो । यससँगै प्याटिनसनले चर्चित ब्रिटिस जासुस एजेन्ट ००७ को भूमिका निर्वाह गर्ने छैटौँ अभिनेता बन्नेछन् । यसअघि यो भूमिका शन कोनरी, जर्ज लेजेनबी, रोजर मुर, टिमोथी डाल्टन, पियर्स ब्रोसनन र डेनियल क्रेगले निर्वाह गरिसकेका छन् ।
‘ड्युन’का निर्देशक डेनिस भिल्नेभले निर्देशन गर्ने नयाँ फिल्म जेम्स बन्ड शृङ्खलाको २६औँ आधिकारिक फिल्म हुनेछ । नयाँ भूमिकाबारे प्रतिक्रिया दिँदै प्याटिनसनले जेम्स बन्डको पात्र निर्वाह गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताएका छन् ।
‘जेम्स बन्ड फिल्म जगतकै सबैभन्दा प्रतिष्ठित पात्रहरूमध्ये एक हो । ००७ को जिम्मेवारी पाउनु जीवनकै सबैभन्दा ठूलो सम्मान हो । मलाई विश्वास गर्नुभएकोमा म सम्पूर्ण टिमप्रति हृदयदेखि नै आभारी छु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले यो भूमिका आफ्नो सपना पूरा भएसरह भएको उल्लेख गर्दै नयाँ टिमसँग काम गर्न उत्साहित रहेको बताएका छन् । सन् २०२५ मा लामो समयदेखि जेम्स बन्ड फिल्मका निर्माता रहेका बारबरा ब्रोकोली र माइकल जी. विल्सनले अमेजन एमजीएम स्टुडियोलाई फिल्मको क्रिएटिभ कन्ट्रोल सुम्पिएका थिए । त्यसपछि बन्न लागेको यो पहिलो ००७ फिल्म हो । यसमा एमी पास्कल र डेभिड हेम्यान नयाँ निर्माताका रूपमा जोडिएका छन् ।
जेम्स बन्ड फिल्मको यात्रा सन् १९६२ मा शन कोनरी अभिनीत ‘डा. नो’बाट सुरु भएको थियो । त्यसयता यो शृङ्खलाले विश्वभर ठूलो लोकप्रियता हासिल गरेको छ । पछिल्लो फिल्म ‘नो टाइम टु डाइ’ सन् २०२१ मा प्रदर्शन भएको थियो । उक्त फिल्मसँगै डेनियल क्रेगको पाँच फिल्म लामो जेम्स बन्ड यात्रा टुंगिएको थियो । फिल्मले विश्वव्यापी बक्स अफिसमा ७५ करोड डलरभन्दा बढी कमाइ गरेको थियो ।
जेम्स बन्ड पात्रको सिर्जना ब्रिटिस उपन्यासकार इयान फ्लेमिङले सन् १९५३ मा गरेका थिए । साहित्यबाट सुरु भएको यो पात्रपछि फिल्म र भिडियो गेमसम्म विस्तार भएको हो ।









