फिल्म । नेपालमा पहिलोपटक यौनस्वास्थ्यको विषयमा फिल्म ‘दुःखी आत्मा’ निर्माण भएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् । फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामाले यौन स्वास्थ्यका विषयले विदेशी फिल्ममा राम्रो स्थान पाएता नेपालमा त्यो नपाएपछि आफैँले निर्देशन गरेको बताए ।
उनले भने,‘मैले आफ्ना फिल्ममार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा बहस गर्नुपर्छ भन्ने लगेर यसलाई ठूलो पर्दामा ल्याउदैछु । यसले कमजोरी लुकाउनु भन्दा त्यसको समाधान खोज्न प्रेरित गर्छ ।’
उनले पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन (उत्तेजना नहुने समस्या)’ भएको देएको बताए । यस पात्रका लागि उहाँले कविको पृष्ठभूमि तयार गरे । उनले यो पनि अध्यन गरेर नै तय गरिएको बताए । उनका अनुसार कवि, साहित्यकार बढी अध्यनशील हुनेभएकाले उनीहरूको मानसिक तनावले ‘इरेक्टाइल डिस्फक्सन’ जस्तो समस्या निम्त्याउने सम्भावना बढी हुन्छ ।
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए । यसको सार्वजनिक श्रव्दृश्य (ट्रेलर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । ‘एडल्ट ड्रामा’ भनिएको उक्त फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारले अभिनय गरेका छन् ।
हिमाल कडरिया निर्माता रहेको फिल्ममा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेकाछन् ।










