कमेन्ट गर्नुहोस्
कविता : स्मृतिको रङ्गीन पट

जीवन एउटा चित्र हो, रङ्ग अनेकौँ छन्,
सुखदुःखका धागाले, बुनिएका क्षण छन्।
सम्झनाका फूल फुल्छन्, मनको बगैँचामा,
समयले कथा लेख्छ, हृदयको पानामा।
कतै हाँसोको उज्यालो, कतै आँसुको धार,
कतै मिलनको मधुरता, कतै बिछोडको भार।
च्यातिएका सपना पनि, गाँसिन्छन् कहिलेकाहीँ,
बितेका ती दिनहरू, फर्किन्नन् फेरि काहीँ।
स्मृतिको तानाबानामा, जीवन बुनिँदै जान्छ,
कहिले स्पष्ट चित्र बन्छ, कहिले धमिलो बन्छ।
नामहरू हराए पनि, माया कहाँ हराउँछ?
मनभित्रको पुरानो स्पर्श, मौन बनी कराउँछ।
सम्झनाका धागाहरू, बिस्तारै जब टुट्छन्,
आफ्नै मान्छेका अनुहार, अपरिचितझैँ छुट्छन्।
शब्दहरू हराए पनि, भावना बाँकी रहोस्,
मायाको न्यानो स्पर्शले, आत्मा जोडिरहोस्।
जीवन क्षणिक फूल हो, समय कठोर माली,
आज उज्यालो आँगनमा, भोलि रात अँध्यारी।
धागा जति टुटे पनि, प्रेम नटुटोस् कहिल्यै,
मानवताको चित्र रहोस्, हृदयभरि सधैँ।
रचनाकार : गोबिन्द राज ओझा (राजन)






