साहित्य । ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण आगामी जेठ २३ र २४ ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको छ । ‘सीमाभन्दा परस् परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थिम रहेको दुइदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
महोत्सवको चौथो संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रमहरू आयोजना गरिने महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले जानकारी दिए ।
महोत्सवमा यस पटक सहभागीमध्ये चर्चित गायिका ईला अरुण, लेखक प्रतिभा राय, चर्चित अभिनेता, गीतकार तथा लेखक पियुष मिश्रा, लेखक एवं चलचित्रकर्मी राज शेखर, आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत छन् । त्यस्तै, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जय प्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेतले महोत्सवमा सहभागिता जनाउने छन् ।
निर्देशक परिडाले महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिने बताए ।
उनले भने, ‘चौथो काठमाडौं कलिंगा साहित्य महोत्सवले साहित्य, संगीत, कविता, सिनेमा, नृत्य तथा विविध कलात्मक परम्पराको उत्सव मनाउनेछ। यसले नेपाल, भारत र दक्षिण एसियाली देशहरूबीचको पुरानो सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई अझ मजबुत बनाउनेछ।’
यो महोत्सव यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना हुन लागेको हो । काठमाडौं कलिंगा साहित्य महोत्सवकी निर्देशक रञ्जना निरौलाले भनिन्, ‘यस वर्षको विषयले पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई झल्काउँछ।’
यसपटकको संस्करणमा ‘गीत सुन्ने कि हेर्नेरु’ शीर्षकमा बहस हुनेछ । गीतकारहरु हर्क साउद, रमण घिमिरे र गैरे सुरेश वत्ताको रुपमा रहेका छन्। त्यसैगरी, ‘नेपाली काव्य’ को वैशिक स्वर शीर्षकमा श्रवण मुकारुङ, डा।अस्मिता बादी र डा।निरज भट्टाईले अन्तक्रिया गर्नेछन्। त्यस्तै, महोत्वमा ‘समाज, सभ्यता र संस्कृति’, ‘रातो पृथ्वीरतातो पृथ्वी’, ‘नारी लेखनस् समानता र स्वतन्त्रता’, ‘देशभन्दा टाढारस्मृतिभन्दा नजिक’, ‘विद्धावारिणी आवश्यकता कि चुनौती’, ‘महोत्सवका चुनौतीहरु’, ‘नेपाल भारत सिनेमा’ लगायतका दुइ दर्जन विषयमा अन्तर्क्रिया कार्यक्रम चल्नेछन्। साथै महोत्सवमा कवित र गजल वाचन कार्यक्रम समेत राखिएको छ।
भारतका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवहरूमध्ये एक केएलएफले सन् २०२२ देखि काठमाडौं संस्करण आयोजना गर्दै आएको हो । आयोजकका अनुसार यसको उद्देश्य नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई अझ बलियो बनाउनु हो।
पछिल्ला वर्षहरूमा यो महोत्सव लेखक, चिन्तक, कलाकार, विद्वान, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूबीच संवादको महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ। महोत्सवमा साहित्य, सिनेमा, संगीत, कूटनीति, अध्यात्म तथा सार्वजनिक जीवनसँग सम्बन्धित धेरै प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ। विभिन्न देशबाट स्थापित लेखक, नयाँ प्रतिभा, प्राध्यापक, अनुवादक, प्रकाशक, कलाकार तथा साहित्यप्रेमीहरूलाई एकै ठाउँमा ल्याउने महोत्सव हो ।
ओडिशाको भुवनेश्वरमा आधारित कलिङ साहित्य महोत्सव भारतको प्रमुख साहित्यिक तथा सांस्कृतिक महोत्सवमध्ये एक हो । यस संस्थाले केएलएफ बुक अवार्ड्स, कलिङ साहित्य महोत्सव इन्द्रप्रस्थ तथा मिस्टिक कलिङ पनि आयोजना गर्दै आएको छ । सन् २०२२ देखि केएलएफले नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक तथा बौद्धिक आदानप्रदानलाई केन्द्रमा राखी साहित्य महोत्सव आयोजना गर्दै आएको हो ।












