फिल्म । सहकारी संस्थाहरूमा रकम अपचलनको विषयलाई समेटेर बनेको फिल्म ‘महाभोज’ को विशेष प्रदर्शनीमा सहकारी पीडितहरूले हेरेका छन् ।सुन्धारास्थित एक सिनेमा हलमा निर्माण टिमले आयोजना गरेको उक्त प्रदर्शनीमा ६० भन्दा बढी सहकारी पीडितले फिल्म हेरेको निर्माण पक्षले जनाएको छ ।
फिल्म हेरेपछि अभिनेत्री चैत्यदेवीले यसले यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताइन् । आफू पनि सहकारी पीडित भएकाले कथासँग व्यक्तिगत रूपमा जोडिएको उनले उल्लेख गरिन् ।
‘फिल्म हेर्दा वास्तविकता झल्किएको अनुभव भयो । म आफैं सहकारीको ठगीबाट पीडित भएर आन्दोलन र अनशनमा सहभागी भएकी थिएँ । यो फिल्मले हामी पीडितको आवाजलाई बुलन्द बनाएको छ । कथाका पात्र र दृश्यमा मैले आफूलाई पाएँ’, उनले भनिन् ।
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले ‘महाभोज’ ले समसामयिक विषयलाई मनोरञ्जक शैलीमा प्रस्तुत गरेको बताए । निर्देशक दिनेश राउतले सहकारीमा जीवनभरको बचत गुमाएका सर्वसाधारणको पीडा र जीविकोपार्जनको कठिनाइलाई फिल्ममा चित्रण गरिएको बताए ।
‘सहकारीको रकम अपचलन र यसले समाजमा पारेको प्रभावलाई बुझेर यो विषयलाई फिल्ममा उठाएका हौं । फिल्म समाजको ऐना हो, त्यसैले समसामयिक विषयलाई उजागर गर्नु हाम्रो दायित्व हो । हामीले विकृतिलाई कलामार्फत प्रस्तुत गरेका छौं’, निर्देशक राउतले भने ।
फिल्ममा सहकारीको आडमा भएको ठगी, राजनीतिक पहुँचको दुरुपयोग र सामाजिक असमानताको विषयलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । प्रदर्शनीमा सहभागी ६० सहकारी पीडितले फिल्मको कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन् ।
‘महाभोज’ मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारको अभिनय छ । विकास सुवेदीको कथा र पटकथामा आधारित यो फिल्म क्लकवर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा बनेको हो । फिल्म यही जेठ १५ बाट देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।








