फिल्म । आउँदो मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चर्चा देशभर छ । निर्वाचनको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीहरूले मङ्सिर तथा पौषमा फिल्म रिलिज गर्ने तयारी गरेका छैनन् । निर्वाचन सम्पन्न भए लगत्तै विश्वकप फुटवल हुने हुँदा दर्शकहलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठले बताए । ‘जाडोको समय , चुनावी रौनक, फुटवलसँगै डिसेम्बर महिनामा ठुला विदेशी फिल्महरू भएकोले प्रदर्शन तय नगरिएको हुनसक्छ,’ वितरक श्रेष्ठले भने ।
नेपालमा निर्वाचन भन्दा पनि विश्वकपले बढी असर गर्ने कलाकार रबिन्द्र सिंह बानियाँ बताउछन् । निर्माता समेत रहनु भएका बानियाँले आफूले निर्माण गरेको फिल्म ‘महापुरुष’ कात्तिकमै प्रदर्शन तोकिएको कारण सोही बताए । ‘यसअगाडी पनि पुषमा खासै फिल्म रिलिज हुन्थेनन् । मङ्सिरमा भने निर्वाचन र विश्वकपले नै असर गरेर रिलिज नभएका हुनसक्छ । पछिल्ला केही घटनाले विदेशी ठुला फिल्मसँग प्रतिष्पर्धा गर्न नेपाली निर्माता तयार देखिदैनन् । किनकी हामी प्राथमिकतामै परिरहेका छैनौँ,’ कलाकार बानियाँले भने ।
नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जन कोरोना महामारीका कारण रोकिएको फिल्महरु एकसाथ प्रदर्शनमा आउँदा भिडभाड देखिएको बताए । ‘दसैँ तिहारमा नेपाली फिल्मको भिडभाड छ । त्यसपछि मङ्सिर र पौष खाली झैँ छ । माघेसंक्रान्तिसँगै नेपाली फिल्महरूले प्रदर्शन तय गरेका छन् । वितरकसँगकको सल्लाह पश्चात यो गरिएको हुनसक्छ,’ महासचिव महर्जनले भने ।
केही समय यता मल्टिप्लेक्सहरूले नेपाली फिल्मलाई शो नदिएको, समयमै शो नखोलेको लगायतका आरोप फिल्मकर्मीले लगाउने गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी शो आउने नपाउनेसँग आफूहरूको कुनै सरोकार नहुने बताउनुहुन्छ । ‘देखिरहेको समस्या सुन्ने निकाए हामी नै हो । यद्दपि हामीले नीतिगत रुपमै यसको समधान गर्नुपर्छ । बोर्डसँग रहेको अधिकार बाहेक भावनात्मक भएर हामीले केही गर्न सक्दैनौ र हुदैन,’अध्यक्ष केसीले भन्नुभयो ।