फिल्म । आगामी तिहारमा प्रदर्शन हुने फिल्म ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौँ’ सार्वजनिक गरिएको छ । राजेशपायल राई र मेलिना राईको स्वर रहेको यस गीतमा शब्द पदम साधना कुलुङ र संगीत तोरेम्पाहाङ राईले दिएका छन् । ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा कलाकार दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगरले छमछमी नाचेका छन् ।
गीतले नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने राई समुदायको परम्परागत साकेला नाचलाई प्रतिबिम्बित गरेको छ । किराँत समुदायले उधौली र उभौली पर्वका अवसरमा साकेला नाच्ने परम्परा रहेको छ । निर्माण पक्षका अनुसार लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धमा आधारित कथाअनुसारकै गीत यसमा समावेश गरिएको छ । गीत रिलिजसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । पूर्वी नेपालमा यो गीत तिहारको समयमा निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
यसअघि सार्वजनिक गरिएको फिल्मको पोस्टर, टिजर र ‘तिमीलाई के थाहा सानु’ गीतले दर्शकमाझ राम्रो हाइप सिर्जना गरिसकेको छ । ‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशकिय डेब्यु फिल्म हो । नेपाली मौलिक प्रेमकथामा आधारित यस फिल्ममा धिरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुसहितका कलाकारहरूको अभिनय समावेश छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ भने गायनमा राजेशपायल राई, मेलिना राई, झुमा लिम्बू र अस्मिता अधिकारीलगायत छन् । सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।फिल्म ‘मैझारो’ आगामी कातिक ७ गतेदेखि अल नेपाल रिलिज हुने तयारीमा छ ।









