कार्यक्रम ‘केही कुरा’ल्याउँदै नरेश

टिभी । नरेश भट्टराई परिचितसँगै स्थापित नाम बनिसकेका छन् । सञ्चारकर्ममा साँढे दुई दशकको लामो यात्रा तय गरेका भट्टराई फरक-फरक परिचतमार्फत स्थापित छन् । उनलाई गीतकार, अभिनेता, फिल्म लेखक, मोडल लगायतका विविध परिचयले आम मानिसले चिन्ने गरेका छन् । कक्षा चारमा अध्यन गर्दैगर्दा पहिलो पटक स्टेजमा उभिएर माईक समाएका भट्टराईले यो यात्रा तय गर्ने सोचेका थिएनन् । तर, रेडियो नेपालमा ‘स्वर परिक्षा’ पास गरेर एक सय मेगाहर्जमा बोल्न थालेपछि उनको यात्रा निरन्तर छ ।

आफूलाई ‘माईक जीवि’ भन्न रुचाउने भट्टराईले पच्चीस सय भन्दा बढी स्टेज कार्यक्रम संचालन गरिसकेका छन् । उनले एक दिनमै तीन फरक फरक क्षेत्रको कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गरेका छन् । ‘अध्यात्म ज्योति एफएममार्फत एक सय मेगाहर्जमा बोल्दा नै यात्रा प्रारम्भ भईसकेको थियो । विहान ५ देखि ७ बजेसम्मको समयमा मैले विभिन्न कार्यक्रम चलाएको छु’, भट्टराईले भने । नीजि क्षेत्रको रेडियो ईमेज एफएमसँग जोडिएका भट्टराईले उन्नाइस वर्षदेखि ‘शुभ दिन’ नामक रेडियो कार्यक्रम संचालन गरिरहेका छन् । पत्रपत्रिकाको खबर र त्यसमा गरिने समीक्षात्मक प्रस्तुती गृहणदेखि निजामती कर्मचारीको प्रिय बनिसकेको छ ।

हरेक विहान ८ देखि १० बजेसम्म भट्टराईले रेडियो बोलेको संवादको बारेमा दिनभर नै चर्चा हुन्छ । उक्त शैलीको बालकदेखि वृद्धसम्म ‘फ्यान’ छन् । ‘हरेक वर्गका व्य्यक्तिले कार्यक्रम र त्यहाँ उठान गरिएको विषयमा चर्चा गर्दा खुशी लाग्छ । केहि मन्त्रीज्यूले पनि कार्यक्रमको विषयमा छलफल गर्नुभएको छ’, भट्टराईले भने ।

विक्रम संवत २०५७ सालमा प्रशारण भएको पहिलो डान्स रियालिटी शो ‘आँगन’ मा प्रस्तोतो बनेका भट्टराईले त्यसपछि चलचित्र, लभ एण्ड लाईफ, लोकस्टार, मेरो डान्स कप, मेरो एउटा छ (तीन सिजन) संचालन गरिसकेका छन् भने मेरो डान्स युनिभर्समा अहिले प्रस्तोता छन् ।

‘चाहनाले यो क्षेत्र रोजेको हुँ । त्यसैले समय मिलाईरहेको छु र मिलिरहेको छ । देशसँगै विदेशको स्टेज कार्यक्रममा व्यस्त हुँदा पनि टेलिभिजन र रेडियो छाडेको छैन र यो निरन्तर रहन्छ’, भट्टराईले भने ।

अभिनयमा पनि भट्टराईको सूरुआत नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘गहना’ मार्फत भयो । त्यसपछि म्युजिक भिडिओ ‘निष्ठुरीले छाडेर गईहाली’ मा अभिनय गरेका भट्टराईले दुई दर्जनको हाराहारीमा म्युजिक भिडिओ र एक दर्जनको हाराहारीमा फिल्म र टेलिभिजनमा प्रशारण हुने विज्ञापनमा अभिनय गरेका छन् ।

लेखनतर्फ गीत र चलचित्रमा उनी सफल छन् । ‘लेखान्त’ चलचित्रको सुपरहिट गीत ‘सँगसँगै बाच्न पाउँ’ मार्फत सुरुआत गरेका भट्टराईले तीन सयको हाराहारीमा गीतको लेखिसकेका छन् । उनले दीपक रायमाझीको निर्देशन रहेको ‘हाम्रो मिलन कहिले हुन्छ,’ मिलन चाम्सको निर्देशन रहेको ‘बबी’ लेखिसकेका सफल फिल्म हुन् भने निर्देशक चाम्सकै ‘तेल्भिसा’ लेखिरहेका छन् ।

‘लेखन मेरो रूचीको विषय हो । त्यसैले गीत होस् वा फिल्म शब्दमा तयार गरिरहेको हुन्छु’, भट्टराईले भने । समयाभावका कारण पनि उनले संख्या बढाउन सकेका छैनन् ।

सन् २०१४ मा नरेशलाई कलस इन्टरटेनमेन्टले एक कार्यक्रमको आयोजना गर्दै ‘भ्वाइस अफ नेपाल’ को उपाधि दियो । त्यसपछि भट्टराईको चिनारी त्यहिँ बन्यो । भट्टराईले माइक्रोफोनमा बोल्दै गरेको चित्रसहितको सार्वजनिक टि-सर्ट मार्फत सम्मान व्यक्त गरिएको थियो । ‘संघसंस्थासँगै सरकारमार्फत पाएको सम्मानले हौसला बढाएको छ । मैले कर्म गरेको थिएँ । त्यसकै परिणाम स्वरूप उपाधि र सम्मान पाइरहे’, भट्टराईले भने ।

यिनै भट्टराईले नयाँ कार्यक्रम ‘केही कुरा नरेशसँग’ को तयारी गरिरहेका छन् । अन्तर्वार्ता शैलीमा भिन्न प्रस्तुती गर्ने कार्यक्रम छिटै प्रशारण हुने उनले जानकरी दिए । ‘निम्तालु अतिथिको सबै कुरा नभई केही विशेष र जीवनसँग जोडिएको कुरा प्रस्तुत गर्नेछु । यसको काम अगाडी बढेको छ । प्रशारण हुने प्लेटफर्मको विषयमा छिटै जानकारी दिनेछु’, भट्टराईले भने ।

हाल प्रशारित भइरहेका कार्यक्रम भन्दा भिन्न बनाउने सोचमा रहेका भट्टराईको सेट डिजाइन टौवा क्रिएसनका विजय वस्यालले गरिरहेका छन् । ‘नरेश दाईको व्यक्तित्व र त्यहाँ निम्तिने अतिथिलाई ध्यानमा राखेर सेट डिजाइन गरिरहेको छु । नेपालमा उहाँले गर्न नसक्ने कुनै किसिमका शो छैनन्’, वस्यालले भने । सबै क्षेत्रका, सबैसँग रमाईला कुरा गर्ने तयारीमा रहेका भट्टराई नयाँ पुस्ता माँझ पनि उत्तिकै लोकप्रिय सञ्चारकर्मी हुन् ।

कमेन्ट गर्नुहोस्