
फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘घरज्वाइँ’ले शनिबार बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबार बिहानी शोमा पानीले केही हदसम्म असर गरेपनि दिउँसोबाट दर्शकको चाँप बढेको फिल्म शनिबार बिहानी शोबाटै आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले दाबी गरे । उनले दिएको जानकारी अनुसार शनिबारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी रह्यो । उनका अनुसार फिल्मले पहिलो विकेन्डमा एक करोड एकाउन्न लाखको ग्रस कलेक्सन गरेको छ ।
निर्माणपक्षले रिलिजको तेस्रो दिनमा २ दिन आँकडा सार्वजनिक गरेको हो । फिल्मले शुक्रबार र शनिबार सुखद कमाई गरेको थियो । मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ लाई दर्शकले सकारात्मक समीक्षा दिईरहेका छन् । निर्देशक अनिल बुढा मगरले विवाह संस्कृतिलाई प्रस्तुत गरेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको प्रेमलाई मगर संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ ।
मिरुनालाई प्राप्त गर्न दया घर ज्वाइँ बस्नु पर्ने प्रचलनलाई फिल्ममा देखाईएको छ । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।
