नेपालीसँगै विदेशी भाषामा ‘प्रेमा’

फिल्म। चैत १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ नेपालीसँगै विदेशी भाषामा समेत स्वरांकन भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक गोविन्द सिंह भण्डारीले तामिल, तेलुगु र हिन्दी भाषामा समेत स्वरांकन गराइएको र ओटीटीमा रिलिजको प्रयाश गरिरहेको जानकारी दिए। ‘हामीले बजार र दर्शक बढाउनु छ भने बाहिरको लागि स्थानीय भाषा मै स्वरांकन गराउनु पर्ने हुन्छ। यसलाई नेपाली बाहेक अन्य भाषामा ओटीटीमार्फत ल्याउने तयारीमा छौँ’, निर्देशक भण्डारीले भने,’म तेलुगु फिल्म उद्योगमा रहेर काम गरेकाले पनि लगाव त्यता बढी छ।’ उनले डेब्यु फिल्म ‘रणवीर’ मा एक्सन जनरा रोजेका थिए। दोस्रो फिल्म लभ स्टोरी तयार गरेका छन्।

‘फरक गरौँ भन्ने लागेको हो। यद्दपि केही समय अब यस जनराको फिल्म गर्दिन’, उनले भने। अभिनेता अरुण क्षेत्रीले अभिनयका हिसाबले दोस्रो फिल्म ‘प्रेमा’ रहेको जानकारी दिए। ‘पहिलो फिल्म महापुरूषबाट बनेको पहिचान र दर्शकको विश्वासलाई बढाउने काम नै गरेको छु। यसपटक मैले भिन्न महसुश गरे। निर्देशकले देखेको पात्रलाई जिवन्त बनाउन सक्दो कोसिश गरेको छु’, अभिनेता क्षेत्रीले भने।

अभिनेत्री सुवेक्षा खड्काले सुन्दर कथावस्तुमा काम गर्न पाउँदा खुसी लागेको जानकारी दिईन्। ‘मैले अभिनय गर्न खोजेको जस्तो भूमिका पाएकी छु। यसको सुन्दरताले मलाइ आकर्षित गरेको हो’, अभिनेत्री खड्काले भनिन् ,’दोस्रो फिल्म भएता पनि पहिलो झैँ मेहनती बनेकी छु। प्रेमाको जीवनकै वरपर फिल्मको कथावस्तु घुमेको छ। ‘

आयोजित पत्रकार सम्मेलनमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको ‘फूल यो चुँडेर’ बोलको गीत सार्वजनिक गरियो । यसमा तीन अरुण र सुवेक्षासँगै सृष्टि श्रेष्ठ फिचार्ड छिन्। अभिनेत्री श्रेष्ठ बेलायतमा रहेकाले कार्यक्रम अनुपस्थित थिइन्। फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया लगायतको समेत अभिनय रहेको छ।

यसलाई निर्देशक भण्डारी र विवेक घिमिरेले संयुक्तरूपमा निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, चन्द्र भट्टराई प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र मिक्सिङ, शैफुद्दीन कादर मोहम्मद क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रङ्ग संयोजन र महेश पौडेलको छायांकन निर्देशन रहेको छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्