तेह्रथुमबाट सुरु भयो ‘सुरताल म्युजिकल टुर’

सङ्गीत । प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा प्रस्तुत हुँदा तेह्रथुमको म्याग्लुङमा भव्य सांगीतिक माहोल बनेको छ । दशौँ हजार दर्शकमाझ तीनै कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा म्याग्लुङको साँझ संगीतमय बनेको हो ।

कार्यक्रममा प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ तथा देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे । प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्यान्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डको विशेष लाइभ प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए ।

आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए। ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको यो सांगीतिक यात्रा तेह्रथुमबाट सुरु भएको हो। सातै प्रदेशका १३ वटा सहरमा आयोजना हुने टुरमा प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुसहितको टोलीले लाइभ प्रस्तुति दिनेछ।

तेह्रथुमपछि असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट आयोजना हुनेछ। त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम हुने आयोजकले जनाएको छ।

त्यसैगरी नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा, धरानलगायतका सहरमा पनि कन्सर्ट आयोजना गरिने आयोजक प्रशान्त सुनारले जानकारी दिए। सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको यो सांगीतिक यात्रा स्थानीय आयोजक तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ।

प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुलाई एउटै टुरमा सहभागी गराएर सातै प्रदेशका विभिन्न सहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ।

कमेन्ट गर्नुहोस्