फिल्म । आगामी चैत २७ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को पहिलो पोस्टर (फर्स्ट लुक्स) सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार फिल्मको उक्त पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) लाई देख्न सकिन्छ । पोस्टरमा उनी हातको औँलाले चुरोट तानेर झुम्म परेको अवस्थामा देखिएका छन् । चुरोट तान्दा उनी निदाएका जस्तो देखिनुले उनको चरित्रको विशेषतालाई झल्काउँछ । यस पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही गम्भीर सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ । पोस्टरमा सागर लम्साल मात्रै छन्, अन्य कलाकारलाई समावेश गरिएको छैन ।
यो फिल्म राजु गिरी को निर्देशनमा तयार भएको हो । फिल्मको पटकथा र संवाद लक्ष्मण सुवेदी ले लेखेका छन् । सुवेदीले यसअघि आधा दर्जनभन्दा बढी फिल्मको लेखन र निर्देशन गरिसकेका छन् । फिल्मको कथा उमेश कुमार बस्नेतले लेखेका हुन्। यसलाई उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो भने वितरणको जिम्मा नेसनल सिने ग्रुपले लिएको छ ।
फिल्ममा सागर लम्साल (बले) सँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा के सी, नबराज गिरि लगायत कलाकारको अभिनय रहेको छ । निर्देशक राजु गिरीले पनि यस फिल्ममा अभिनय गरेका छन् । बालकलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन् ।
यसमा श्याम तामाङको छायांकन, सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरीको निर्माण रहेको छ । फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको छ भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ ।












