फिल्म । छायांकनरत नेपाली फिल्म ‘बेहुली’ को छायाङ्कन ४५ दिनमा सम्पन्न भएको छ । पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी र शुशान्त कार्कीको मुख्य अभिनय रहेको फिल्मको दुई वटा गीतको छायाङ्कन भने अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।
‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी जनैपूर्णिमाको अवसर पारेर भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा कुलब्वाय र दिव्या रायमाझीको जोडीलाई लिएर दर्शकमाझ सुरुदेखि नै चासो देखिएको छ।
‘होस्टेल ३’ बाट फिल्म यात्रा सुरु गरेका पारस बम ठकुरी यसपटक परिपक्व प्रेमकथामा दिव्यासँग स्क्रिन शेयर गर्दैछन् । दुवैको स्क्रिन केमेस्ट्रीलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ । संगीतकार अर्जुन पोखरेल पहिलोपटक निर्माताको भूमिकामा देखिएका यस फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन्। फिल्मको कथा माधव शर्माले लेखेका छन् । सुपरहिट फिल्म ‘होस्टेल ३’मा पनि यही निर्देशक-लेखक जोडीले सहकार्य गरेको थियो ।
फिल्ममा पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अबिरल श्रेष्ठ, सबिन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता सुमन थिङ तामाङ हुन् भने सह-निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल रहेका छन्। शंकर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा आबद्ध छन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहनेछ भने सम्पादन विकास दाहालले गर्नेछन्। द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गरेका छन् । मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् भने प्रोडक्सन हेडको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन्। राजु वाइबाको मेकअप, किशोर नेपालको प्रोडक्सन डिजाइन तथा एलेक्स बासुकलाको पहिरन डिजाइन रहने फिल्मको पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गरेका हुन्।












