फिल्म । ब्राजिलका महान् फुटबल खेलाडी पेले (एडसन अरान्तेस दो नासिमेन्टो) को बाल्यकाल र प्रारम्भिक जीवनमा आधारित फिल्म ‘पेले : बर्थ अफ अ लिजेन्ड’ले उनको संघर्ष र सफलताको कथा प्रस्तुत गरेको छ । फिल्मको निर्देशन जेफ जिम्बालिस्ट र माइकल जिम्बालिस्टले गरेका हुन् ।
सन् २०१६ मा प्रदर्शनमा आएको यो फिल्म ब्राजिलको साओ पाउलोस्थित गरिब बस्ती ‘फाभेला’बाट सुरु हुन्छ । फिल्ममा सानो पेलेको भूमिकामा लियोनार्डो लिमा कार्भाल्हो र केभिन डे पाउला देखिएका छन् । उनी खाली खुट्टा र पुरानो बलसँग फुटबल खेल्दै आफ्नो प्रतिभा निखारिरहेको दृश्य फिल्ममा समेटिएको छ।
पेलेका बुबा पनि फुटबल खेलाडी थिए । तर चोटका कारण उनले आफ्नो खेल जीवनलाई निरन्तरता दिन सकेनन् । यद्यपि, उनले छोराको प्रतिभा चिन्न सफल हुन्छन् र उनलाई निरन्तर हौसला प्रदान गर्छन् ।
असाधारण प्रतिभाका कारण पेले पछि ब्राजिलको राष्ट्रिय फुटबल टोलीमा छनोट हुन्छन् । त्यसपछि उनले मात्र १७ वर्षको उमेरमा सन् १९५८ को विश्वकप फुटबलमा सहभागिता जनाउँछन् । उक्त प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
समग्रमा, फिल्मले विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने पेलेको संघर्ष, मेहनत र सफलताको यात्रालाई नजिकबाट बुझ्न मद्दत गर्छ । साथै, कठिन परिस्थितिबाट उठेर विश्व फुटबलको शिखरमा पुग्न सफल उनको प्रेरणादायी जीवनकथालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।










