फिल्म । नेपालका चर्चित फिल्म निर्देशक दलप्रसाद लिङ्देन (दिनेश लिङ्देन) लाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ३१औं विश्व आदिवासी दिवसको अवसरमा सम्मान गरेको छ । अमेरिकामा बसोबास गर्ने नेपाली जनजातिहरुको साझा संस्था महासंघले उनलाई यो सम्मान प्रदान गरेको हो । निर्देशक लिङ्देनले ‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’ र ‘खोजतलास’ जस्ता फिल्महरु निर्देशन गरिसकेका छन् ।
सम्मान ग्रहण गर्न उनी केही समयअघि अमेरिका पुगेका थिए । ‘यो सम्मानले मलाई थप जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको छ’, लिङ्देनले भने । सम्मान समारोहअघि लिम्बु, राई, गुरुङ, मगर, नेवार, तामाङ, थारु, शेर्पा लगायतका जनजातिहरुले आ-आफ्ना सांस्कृतिक झाँकीसहित न्यूयोर्क सिटीमा र्याली निकालेका थिए ।
कार्यक्रममा नेपाल, अमेरिका, फिलिपिन्स, थाइल्याण्ड, बर्मा लगायतका देशका आदिवासी कलाकारहरुले सांस्कृतिक गीत र नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रममा महासंघका अध्यक्ष तोरण गुरुङ, नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारी, उज्यालो नेपालका अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्यमी केशवराम राई र फिल्म निर्देशक सुरज सुब्बा लगायतको उपस्थिति थियो ।











