फिल्म । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो। सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति तय गरिएको हो।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मले प्रदर्शन मिति तय गरेसँगै प्रचारप्रसारलाई समेत गति दिने तयारी निर्माण पक्षको छ। घटस्थापनाका दिन फिल्मको पहिलो गीत सार्वजनिक गर्ने तयारी गरिएको छ।
निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको ‘छत्तीसको आँकडा’को कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ। फिल्ममा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक पोस्टरले पनि यी दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो।
पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखाइएको छ। रेखाको अनुहारमा संघर्षपछि प्राप्त सफलताको भाव देखिन्छ भने पूजाको पात्रलाई प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ। यही पोस्टर सार्वजनिक भएपछि फिल्मको कथालाई लिएर दर्शकमाझ चासो बढेको थियो।
फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको मुख्य अभिनय रहेको छ। रेखाको जोडीका रूपमा महेश त्रिपाठी देखिनेछन् भने पूजासँग पुष्प खड्का जोडीका रूपमा प्रस्तुत हुँदैछन्। पुष्प र पूजा पहिलोपटक जोडीका रूपमा एकसाथ पर्दामा देखिन लागेका हुन्। ‘छत्तीसको आँकडा’मार्फत रेखा र निरुता सिंहले पनि लामो समयपछि पुनः सहकार्य गरेका छन्। यी दुईले यसअघि ‘दुई पल’मा सँगै अभिनय गरेका थिए।
निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्यो मेरो मन’लगायतका फिल्ममा सहकार्य गरेका छन्। त्यस्तै, रेखा र पूजाले ‘उपहार’पछि पुनः सहकार्य गर्न लागेका हुन्। फिल्मको नेपालभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।











