‘नेपालको कथा भन्ने आफ्नै शैली छ’ : निर्देशक खिन्से नोर्बु

फिल्म। सिमित चलचित्र भवनबाट प्रदर्शनमा आएको चलचित्र ‘डाकिनी’ को विशेष प्रदर्शनी काठमाडौंमा गरिएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै आधारित रहेर तयार गरिएको देवीको खोजीको कथा प्रस्तुत गरिएको चलचित्रको अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ राखिएको छ ।

बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) विशेष प्रदर्शनमा सहभागी हुँदै आफू निर्देशित चलचित्रमा खासै ठूला घटनाक्रम नहुने बताउनुभयो । ‘कथा भन्ने शैलीकै कारण हामी अन्य प्राणी भन्दा फरक छौं । कथाले नै हामीलाई एक ठाउँमा ल्याएको छ’,निर्देशक नोर्बुले भन्नुभयो,’कथा वाचन गर्नुपर्छ । किनकि नेपालको कथा भन्ने आफ्नै शैली छ ।’

बौद्ध ग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको चलचित्रलाई षट्कोण आर्टसका नेपाली निर्माताहरु रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीले नेपाल प्रदर्शन गर्नुभएको हो । ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायाङ्कन पनौती र पाटनमा भएको थियो । ‘यो धैर्यतापुर्वक हेर्ने एउटा चलचित्र हो । यसको निर्माणमा नै कुनै प्रेसर थिएन । हामीले बजारको निर्देशन विना चलचित्र निर्माण गरिरहेका थियौँ । किनकि हामीलाई व्यावसायिक पक्षसँग चासो थिएन्’, निर्माता बानियाँले भन्नुभयो ।

चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतले अभिनय गर्नुभएको छ । निर्देशक नोर्बुले सन् १९९९ मा पहिलो चलचित्र ‘द कप’ निर्देशन गर्नुभएको थियो ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई सपनामा केही संकेत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्र कथा बगेको छ ।

कमेन्ट गर्नुहोस्