सङ्गीत । आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा सञ्जित खरेल चिफ पेट्रोनका रूपमा रहने भएका छन्। सिक्किममा नेपथ्यले पहिलोपटक आफ्नो सांगीतिक कार्यक्रम गर्न लागेको हो।
सिक्किम कन्सर्टका लागि पीभीई नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख विकेश कायस्थ र सञ्जित खरेलबीच भएको भेटमा खरेललाई चिफ पेट्रोन बनाउने सहमति भएको हो। भेटमा कायस्थ र खरेलबीच कन्सर्टभन्दा बाहिर गएर सांगीतिक कार्यक्रमको अर्थतन्त्र, रचनात्मक अर्थतन्त्र, सांस्कृतिक पर्यटन तथा सिक्किमलाई ठूला सांगीतिक र सांस्कृतिक अनुभवका लागि उदीयमान गन्तव्यका रूपमा विकास गर्ने सम्भावनाबारे छलफल भएको थियो।
पीभीई नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख कायस्थका अनुसार सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले विभिन्न अवसरमा सिर्जनात्मक क्षेत्र, युवा उद्यमशीलता, संगीत, मनोरञ्जन तथा रचनात्मक अर्थतन्त्रका विषयमा सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र दिएको जोडबाट पनि सज्जन राज वैध र नेपथ्यको कार्यक्रम प्रेरित छ।
आयोजकका अनुसार नेपथ्यको कन्सर्टमा दार्जिलिङ पहाड, कालिम्पोङ, खरसाङ, सिलिगुडी, उत्तरपूर्वी भारत, नेपाल तथा आसपासका क्षेत्रबाट दर्शक र यात्रुहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।











