फिल्म । नेपाली फिल्म ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ । गत भदौमा छायाङ्कन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन् । छायाङ्कनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन् ।
यसको रिलिज मितिबारे निर्देशक सेनले छायाङ्कन पूरा भए लगत्तै टिजरसहित घोषणा गर्ने जानकारी दिए । एक्सन प्रधान रहेको ‘बलिदान’ मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ ।
‘बलिदान’को अन्तिम छायाङ्कन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायाङ्कन गरेका थिए, तर उनी अर्को चलचित्रको छायाङ्कनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् । कथावस्तु नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको छ ।












